हेब्रोन- इजरायलले अक्टोबर २७ (कात्तिक) मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल मार्ग बन्द गर्ने घोषणा गरेको छ। प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले उक्त क्षेत्रमा सैन्य कारबाही तीव्र बनाएको हो।
इजरायली सेनाले हेब्रोन सहरमा प्रवेश गरी करिब दुई हजार प्यालेस्टिनी बासिन्दालाई विस्थापित गराएको भोलिपल्ट उक्त घोषणा गरेको हो। रक्षामन्त्री इजरायल काट्जले हमाससँग सम्बन्धित समस्या समाधान नभएसम्म विस्थापितहरूलाई घर फर्कन नदिइने बताएका छन्।
शुक्रबार प्यालेस्टिनी सहरनजिकैको जाँच चौकीमा भएको आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए। हमासले आक्रमणको जिम्मेवारी नलिए पनि त्यसको प्रशंसा गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणमा संलग्न पक्षले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
उनले सन् १९६७ मा इजरायलले वेस्ट बैंक कब्जा गरेयताकै ठूलो स्तरको सैन्य कारबाही गर्ने संकेत गरे। इजरायली सेनाका अनुसार आइतबारदेखि प्यालेस्टिनी कामदारलाई वेस्ट बैंकका इजरायली बस्ती, औद्योगिक क्षेत्र तथा जोर्डन उपत्यकामा प्रवेश गर्न रोक लगाइनेछ।
निर्वाचनको दिन सबै स्थल मार्ग बन्द रहनेछन्। यसैबीच, प्यालेस्टिनी प्राधिकरणले सैन्य कारबाहीबाट प्रभावित नागरिकको सुरक्षाका लागि इजरायलमाथि अन्तरराष्ट्रिय दबाब बढाउन आह्वान गरेको छ।
इजरायली सेनाले शुक्रबार र शनिबार वेस्ट बैंकका ४० स्थानमा कारबाही गरेको जनाएको छ। सेनाका अनुसार हमास र इस्लामिक जिहादजस्ता संगठनसँग आबद्ध व्यक्तिसहित करिब ४० जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ। रासस/एएफपी



