चीनमा बिहान घरबाट निस्केर काममा जान लागेको नाटक गर्दै छन् युवा

हिमाल प्रेस ७ कार्तिक २०८३ १७:४५ | Saturday, October 24, 2026
4
SHARES
चीनमा बिहान घरबाट निस्केर काममा जान लागेको नाटक गर्दै छन् युवा चिनियाँ युवा। तस्बिर : डीडब्ल्यू

चीनमा सामाजिक सञ्जालमा दिनभरि घरबाहिर समय बिताउने, आफन्तका प्रश्नबाट बच्ने र जागिरमा जान लागेको नाटक गर्ने युवाका अनुभवसँग सम्बन्धित सामग्री व्यापक रूपमा फैलिएका छन्। आखिर चिनियाँ युवाहरूले बेरोजगारी लुकाउन जागिरमा जान लागेको नाटक किन गर्नुपरिरहेको छ?

बिहानको नौ बज्न लागेको छ। चीनको चोङछिङ सहरमा २८ वर्षीया सुसान सुन घरबाट बाहिर निस्कने तयारी गर्दै छिन्। उनी साँझ ६ बजेपछि मात्रै घर फर्किन्छिन्। पहिलो नजरमा उनलाई सधैँझैँ कार्यालय जान लागेकी युवती ठान्न सकिन्छ। तर सुसान जागिरमा गइरहेकी छैनन्। उनले बेरोजगार भएको कुरा आमाबुबाबाट लुकाउन कार्यालय जान लागेको नाटक गरिरहेकी छन्।

सुसानले गत वर्षको अन्त्यतिर एउटा इन्टरनेट कम्पनीको जागिर गुमाएकी थिइन्। त्यसयता उनले परिवारलाई यो कुरा बताएकी छैनन्। यस वर्षको मेमा उनका आमाबुबा उनीसँगै बस्न आएका थिए।

चीनमा उनले हरेक महिना एक हजार ८६४ युआन अर्थात् करिब २७८ अमेरिकी डलर बेरोजगार भत्ता पाउँछिन्। उनी त्यही रकमबाट गुजारा गरिरहेकी छन्। थोरै पैसामा जीवन चलाउनुपरेको र तत्काल काम नगर्दा आफूलाई खासै समस्या नभएको उनको भनाइ छ। बरु आमाबुबाको चिन्ता र उनीहरूले आफूमाथि राखेका अपेक्षाबीच बाँच्न उनलाई बढी कठिन भइरहेको छ।

सुसानले समाचार संस्था रोयटर्ससँग भनेकी छन्, ‘आमाबुबाले आफ्ना कुरा र बोल्ने शैलीबाट मलाई पनि चिन्तित बनाउनुहुन्छ। विशेषगरी, अर्थतन्त्रको अवस्था राम्रो छैन, त्यसैले पैसा जोगाएर राख्नुपर्छ भन्नुहुँदा।’

सामाजिक सञ्जालमा बेरोजगारी लुकाउने उपाय

चोङछिङमै बस्ने ३६ वर्षीया झाङ भन्छिन्, ‘कार्यदिनमा पनि पुस्तकालय पूरै भरिएको देख्नुपर्ला भनेर मैले कहिल्यै सोचेकी थिइनँ।’

झाङ दृश्य प्रभावसम्बन्धी सामग्री उत्पादन गर्ने काम गर्थिन्। कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढेपछि गत अगस्टमा गरिएको कर्मचारी कटौतीमा उनले पनि जागिर गुमाइन्।

चीनमा अहिले सामाजिक सञ्जालमा एउटा अनौठो प्रवृत्ति देखिएको छ। दिनभरि घरबाहिर कहाँ समय बिताउने, आफन्तका प्रश्नबाट कसरी बच्ने र जागिरमा जान लागेको नाटक कसरी गर्ने भन्ने विषयमा मानिसहरूले आफ्ना अनुभव र सुझाव साझा गरिरहेका छन्।

चीनको इन्स्टाग्रामजस्तै सामाजिक सञ्जाल ‘रेडनोट’ मा यस्ता सामग्री सात करोडभन्दा बढी पटक हेरिएका छन्। चीनको टिकटकजस्तै एप ‘दोयिन’ मा तिनलाई ६१ करोड पटक हेरिएको छ। चीनको एक्सजस्तै सामाजिक सञ्जाल ‘वेइबो’ मा पनि यस विषयसँग सम्बन्धित ह्यासट्यागमा ३२ करोडसम्म ‘भ्युज’ पुगेको छ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले बेरोजगार भएकाहरूलाई दिन बिताउन पार्क, पुस्तकालय, क्याफे र किनमेल केन्द्रमा जान सुझाव दिइरहेका छन्। यो दृश्यले सन् १९९० को दशकको एसियाली वित्तीय संकटका बेला दक्षिण कोरिया र जापानमा जागिर गुमाएका मानिसहरूको सम्झना गराउँछ। त्यतिबेला पनि उनीहरू बेरोजगारी परिवारबाट लुकाउन कार्यालय जान लागेको नाटक गर्थे।

अमेरिकाको कर्नेल विश्वविद्यालयमा राजनीतिशास्त्रकी सहप्राध्यापक डायना फूका अनुसार सुसानजस्ता युवाले समाजमा आफ्नो प्रतिष्ठा जोगाउन जागिरमा जाने नाटक गरिरहेका छन्। तर यस्तो व्यवहारले सरकारप्रतिको असन्तुष्टि कम हुन पनि सक्छ।

डायना फूले भनिन्, ‘जागिरमा जाने नाटक गर्ने मानिसहरूले चिनियाँ सरकारलाई कठिन निर्णय लिनुपर्ने अवस्थाबाट जोगाइरहेका छन्। सरकारले मेसिन र प्रविधिबाट काम गराउने प्रक्रियालाई प्रोत्साहन गर्ने कि मानिसको रोजगारी जोगाउन ध्यान दिने भन्ने प्रश्नको सामना गर्नुपर्छ।’

किन गुमाइरहेका छन् युवाले जागिर?

चिनियाँ युवाले रोजगारी गुमाउनुका पछाडि विभिन्न कारण छन्। विश्लेषकहरूका अनुसार यसले त्यहाँको कमजोर रोजगारी बजारको वास्तविक अवस्था देखाउँछ।

चीनको अर्थतन्त्र अन्य देशमा ठूलो परिमाणमा वस्तु निर्यात गर्ने कार्यमा झन् बढी निर्भर हुँदै गएको छ। सरकारी तथ्यांकअनुसार उत्पादनमूलक उद्योगहरूले कडा प्रतिस्पर्धा सामना गरिरहेका छन्। त्यसबाट जोगिन कम्पनीहरूले आफ्ना उत्पादनको मूल्य घटाउनुका साथै कर्मचारी संख्यासमेत कटौती गरिरहेका छन्। अर्कोतिर, जागिरमा रहेकाहरूलाई पहिलेभन्दा बढी कामको भार दिइँदै छ।

अर्थतन्त्रमा लामो समयदेखि जारी संकट र स्थानीय सरकारहरूसँग पैसाको अभावले पनि रोजगारी तथा मानिसहरूको आम्दानीमा असर पारेको छ।

त्यसमाथि कृत्रिम बौद्धिकता र स्वचालित प्रविधिको विस्तारले पनि रोजगारी खोसिरहेको छ। सिटी बैंकको अनुमानअनुसार चीनमा एआईका कारण करिब सात करोड रोजगारी गुम्ने जोखिम छ। यो कुल रोजगारीको ९.६ प्रतिशत हो।

परिवारको गाली र दबाबबाट बच्न बेरोजगारी लुकाउँदै युवा

३२ वर्षीया ली पहिले चीनको एउटा सरकारी स्वामित्वको घरजग्गा कम्पनीमा काम गर्थिन्। सुसानजस्तै उनी पनि जागिर गुमाएको कुरा परिवारबाट लुकाइरहेकी छन्।

परिवारले आफू बेरोजगार भएको थाहा पाए चिन्ता गर्ने र नयाँ जागिर खोज्न दबाब दिने उनको डर छ। चीनमा रोजगारी पाउन पहिलेभन्दा कठिन हुँदै गएको छ।

चीनको अर्थतन्त्र अन्य देशमा वस्तु निर्यात गर्ने कार्यमा झन् बढी निर्भर हुँदै गएको छ। सिटी बैंकको अनुमानअनुसार एआईका कारण चीनमा करिब सात करोड रोजगारी गुम्ने जोखिम छ।

अमेरिकाको बफेलो विश्वविद्यालयमा समाजशास्त्रकी सहायक प्राध्यापक यिगे डोङका अनुसार सन् १९९० को दशकमा जापान र दक्षिण कोरियाले आर्थिक संकट सामना गर्दा त्यहाँ पनि मानिसहरूले रोजगारी गुमाएका थिए। तर चीनमा सामाजिक सुरक्षाको व्यवस्था अन्य धेरै देशको तुलनामा सीमित छ।

डोङले भनिन्, ‘एक समय यस्तो आउनेछ, जब बेरोजगार मानिसहरूले पैसा जुटाउन सम्भव भएका सबै उपाय अपनाउन थाल्नेछन्। उनीहरूले परिवारका सदस्य र आफन्तसँग पैसा सापटी माग्न थाल्नेछन्।’

लीका आमाबुबा उनलाई भेट्न आउँदा उनी पनि झाङ र सुसानजस्तै घरबाहिर समय बिताउँछिन्। बेरोजगारी लुकाउन उनीहरू कार्यालय जाने नाटक गर्छन्, ताकि परिवारले आफूहरू नियमित काममा गइरहेको ठानोस्।

प्रकाशित: ७ कार्तिक २०८३ १७:४५ | Saturday, October 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast