दसैँको टीका ग्रहणपछि बेलायती दूतावासका अधिकारी।
काठमाडौँ- दसैँ नेपालीका लागि परिवारको पुनर्मिलन, पुस्तान्तरण हुँदै आएको संस्कृतिको निरन्तरता र समाजलाई जोड्ने आत्मीयताको उत्सव हो। विदेशमा रहेका नेपाली हुन् वा स्वदेशमै बसेका, दसैँले सबैलाई कुनै न कुनै रूपमा आफ्नो माटो, परिवार र परम्परासँग जोड्छ।
यही आत्मीय पर्वमा नेपालमा रहेका विदेशी दूतावासले पनि शुभकामना साटासाट गर्दै नेपालीको खुसीमा साथ दिनु कूटनीतिक सम्बन्धको एउटा सुन्दर पक्ष हो। नेपालस्थित अमेरिकी, भारतीय, चिनियाँ, बेलायती, जापानी, जर्मनी, इजरायली, फ्रान्सेली, रुसीलगायत विभिन्न मुलुकका दूतावासले नेपालीका महान् चाडपर्वमा शुभकामना व्यक्त गर्नु पछिल्लो समय सामान्य कूटनीतिक अभ्यासजस्तो देखिन थालेको छ।
अमेरिकी दूतावासले दसैँको हार्दिक शुभकामना भन्ने सन्देश सार्वजनिक गरेको छ। भारतीय दूतावासले पनि सबैमा शुभकामना दिँदै दसैँ, तिहार र छठको अवसरमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको छ।
बेलायती दूतावासले शुभकामना दिएको छ। त्यस्तै इजरायली दूतावासले पनि शुभकामना भनेको छ। हुन त अघि ल्लो बर्ष पनि यस्ता शुभकामना दिएका थिए। यसमा संख्या बढिरहेको छ। जापानी, अस्ट्रेलियन, श्रीलंकाली र स्विस दूतावासले पनि शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने यस्ता सन्देशमा औपचारिक शब्द मात्र हुँदैनन्, नेपाली समाजको सांस्कृतिक जीवनप्रति चासो, सम्मान र आत्मीयता प्रदर्शन गर्ने प्रयास पनि देखिन्छ।

कतिपय दूतावासले नेपाली चाडपर्वका अवसरमा आफ्ना सन्देशसँगै स्थानीय संस्कृति, परम्परा र पर्वसँग जोडिएका दृश्यसमेत प्रस्तुत गर्छन्। यसले कूटनीतिलाई सरकारी कार्यालय र औपचारिक भेटघाटको सीमाबाट बाहिर निकालेर मानिसको दैनिक जीवनसँग जोड्ने काम गर्छ।
कूटनीति भनेको सरकारसँग सरकारको सम्बन्ध मात्र होइन, समाजसँग समाजको सम्बन्ध पनि हो। दसैँजस्तो पारिवारिक र सांस्कृतिक महत्त्व बोकेको पर्वमा विदेशी कूटनीतिक नियोगले देखाउने आत्मीयता यही व्यापक कूटनीतिक सम्बन्धको एउटा सानो तर अर्थपूर्ण अभिव्यक्ति हो।
शुभकामनामा देखिने सांस्कृतिक सम्मान
नेपालको राष्ट्रिय जीवनमा दसैँ, तिहार, छठ, ल्होसार, नेपाल संवत् र नेपाली नयाँ वर्षजस्ता पर्वहरूको विशेष स्थान छ। यी पर्वका धार्मिक र सांस्कृतिक अर्थ फरक छन्, तर सबैले समाजमा सद्भाव, सहअस्तित्व र सामूहिक उत्सवको भावना जगाउँछन्।
नेपालमा कार्यरत विदेशी कूटनीतिज्ञहरूले यस्ता अवसरमा शुभकामना व्यक्त गर्नुले नेपाली समाजको विविधता र सांस्कृतिक पहिचानप्रति सम्मान प्रकट गर्छ। अमेरिकी राजदूतले इन्द्रजात्राको शुभकामना दिँदै परिवार र समुदायको एकता तथा नेपालको सांस्कृतिक सम्पदाको प्रशंसा गरेका थिए। यस्ता सन्देशले नेपाली संस्कृति अन्तर्राष्ट्रिय समुदायसमक्ष परिचित हुने अवसर पनि दिन्छ।
दसैँमा टीका र जमरा, मान्यजनको आशीर्वाद, परिवारसँगको भेटघाट र गाउँघर फर्किने परम्परा नेपाली जनजीवनका विशिष्ट पक्ष हुन्। यी परम्परालाई विदेशी नियोगले आफ्ना सन्देशमा समेट्दा नेपाली संस्कृति अन्तर्राष्ट्रिय समुदायसमक्ष परिचित हुने अवसर पनि प्राप्त हुन्छ।
विदेशी कूटनीतिज्ञका लागि यो नेपाली समाजलाई बुझ्ने र त्यससँग आत्मीय सम्बन्ध स्थापित गर्ने माध्यम हो। यस्तो अभ्यास दसैँमा मात्र सीमित छैन। नेपाली नयाँ वर्षका अवसरमा विभिन्न मुलुकका सरकार, विदेश मन्त्रालय तथा राष्ट्रप्रमुख र सरकारप्रमुखका तहबाट समेत शुभकामना सन्देश आउने गरेका छन्।

यसले नेपालको राष्ट्रिय पर्व र नयाँ वर्षलाई अन्तर्राष्ट्रिय सम्बन्धको औपचारिक संवादमा स्थान दिएको देखिन्छ। यद्यपि सबै देशको अभ्यास र शुभकामना पठाउने तह समान हुँदैन, तर उच्च तहबाट व्यक्त गरिने शुभेच्छाले नेपालको राष्ट्रिय पहिचानप्रति दिइएको महत्त्वलाई थप उजागर गर्छ।
नेपालका लागि यस्ता सन्देशको महत्त्व केवल खुसी व्यक्त गर्नुमा छैन। अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध व्यापार, सहायता, सुरक्षा र रणनीतिक चासोमा मात्र सीमित नरहेको सन्देश पनि यसले दिन्छ। सम्बन्धको अर्को महत्त्वपूर्ण आयाम संस्कृति, जनस्तरको सम्पर्क र पारस्परिक सम्मान हो।
संस्कृति बुझ्ने कूटनीति, सम्पदा जोगाउने साझेदारी
विदेशी मुलुकले नेपाली संस्कृति र सम्पदाप्रति देखाएको चासो शुभकामना सन्देशमा मात्र सीमित छैन। नेपालका ऐतिहासिक सम्पदा, मठमन्दिर, विहार, दरबार क्षेत्र र परम्परागत वास्तुकलाको संरक्षण तथा पुनर्निर्माणमा विभिन्न देशले आर्थिक, प्राविधिक र संस्थागत सहयोग गर्दै आएका छन्।
खासगरी २०७२ सालको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगको महत्त्वपूर्ण भूमिका रह्यो। भारत,चीन, जापान, अमेरिका तथा अन्य साझेदार मुलुक र संस्थाले विभिन्न सम्पदा, सांस्कृतिक संरचना तथा ऐतिहासिक स्थलको संरक्षणमा सहयोग गरेका छन्।
जापानले सम्पदा संरक्षण र सांस्कृतिक सम्पदासँग सम्बन्धित क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको छ। भूकम्पपछि काठमाडौँ दरबार क्षेत्रका अगमछेन मन्दिर तथा पाटन दरबार क्षेत्रका कृष्ण मन्दिर, चार नारायण मन्दिरलगायतका संरचनाका लागि उपकरण र प्राविधिक सहयोग दिएको थियो।

भारतले पनि नेपालका विभिन्न धार्मिक तथा ऐतिहासिक संरचनाको पुनर्निर्माण र संरक्षणमा योगदान गरेको छ। भूकम्पपछि भारतले ३० भन्दा बढी सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गरेको छ। हालसालै पाटनको गुइता टोलस्थित गुस्थल महाविहार र प्रथमश्री महाविहारको अगम तथा कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्निर्माण सम्पन्न भएको छ।
चीनले बासन्तपुर दरबार क्षेत्रको नौतल्ले दरबार परिसरको पुनर्निर्माणमा प्राविधिक र पुरातात्त्विक सहयोग गरेको छ। अमेरिकाले बसन्तपुरको गद्दि बैठक मात्र होइन पाटनको केही मन्दिरहरु पनि पुनर्निर्माण गरेको छ। कैयनको जिर्णोद्वार गरेको पनि पाइन्छ। अन्य मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाहरूको साझेदारीले पनि नेपाली सम्पदाको संरक्षणमा भूमिका खेलेको छ। यी योगदानलाई आर्थिक सहयोगका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन।
सम्पदा भनेको ढुङ्गा, इँटा, काठ र धातुबाट बनेको संरचना मात्र होइन। त्यसमा एउटा समाजको इतिहास, स्मृति, आस्था, सीप र जीवनपद्धति जोडिएको हुन्छ। मन्दिरको पुनर्निर्माणले धार्मिक अभ्यासलाई निरन्तरता दिन्छ, पुरानो बस्तीको संरक्षणले समुदायको ऐतिहासिक पहिचान जोगाउँछ र परम्परागत वास्तुकलाको संरक्षणले पुर्खाको ज्ञानलाई भावी पुस्तासम्म पुर्याउँछ।

त्यसैले विदेशी सहयोगबाट कुनै सम्पदाको पुनर्निर्माण हुँदा त्यसको लाभ नेपालको सांस्कृतिक जीवनले मात्र होइन, विश्व सम्पदाको संरक्षणमा पनि पुग्छ। नेपालका सम्पदामा विश्वभरिका पर्यटक, अनुसन्धानकर्ता र संस्कृतिप्रेमीको चासो रहनुको कारण पनि तिनको ऐतिहासिक र कलात्मक विशिष्टता हो।यद्यपि, सम्पदा संरक्षणको जिम्मेवारी अन्ततः नेपालकै हो।
बाह्य सहयोग महत्त्वपूर्ण भए पनि संरक्षणको प्राथमिकता निर्धारण गर्ने, मौलिकता कायम राख्ने, स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने र पुनर्निर्मित संरचनाको दीर्घकालीन हेरचाह गर्ने दायित्व नेपाली राज्य र समाजकै हुन्छ। विदेशी साझेदारीले यो जिम्मेवारीलाई बलियो बनाउनुपर्छ, प्रतिस्थापन गर्नु हुँदैन।
आत्मीयता कूटनीतिक सम्बन्धको पूरक
नेपालको भूराजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय सम्बन्धको जटिलता हेर्दा कूटनीतिलाई केवल औपचारिक भेटघाट र रणनीतिक स्वार्थको चस्माबाट हेर्ने प्रवृत्ति देखिन्छ। तर देशहरूबीचको सम्बन्धको आधार राजनीतिक र आर्थिक हित मात्र होइन, एकअर्काको समाज र संस्कृतिप्रतिको सम्मान पनि हो।
नेपालमा रहेका विदेशी दूतावासले दसैँमा शुभकामना दिनु, नेपाली नयाँ वर्षमा सन्देश पठाउनु वा अन्य सांस्कृतिक पर्वमा सहभागी हुनु यस्तै सम्बन्ध निर्माणका अभ्यास हुन्। यस्ता गतिविधिले कूटनीतिज्ञलाई नेपाली समाजको सांस्कृतिक संवेदनशीलता बुझ्न सहयोग पुर्याउँछन्। नेपाली नागरिकका लागि पनि विदेशी मुलुकलाई केवल शक्ति, बजार वा राजनीतिक प्रभावका रूपमा होइन, फरक संस्कृति र आफ्नै विशिष्ट पहिचान भएका समाजका रूपमा बुझ्ने अवसर मिल्छ।
शुभकामना सन्देशलाई नै कुनै देशको नेपालप्रतिको नीतिको प्रमाण मान्नु उचित हुँदैन। कूटनीतिक आत्मीयता र राष्ट्रिय हित फरक विषय हुन्। मित्रवत् सन्देशसँगै व्यवहारमा पारस्परिक सम्मान, नेपालको सार्वभौमिकताको स्वीकार, विकास साझेदारीमा पारदर्शिता र राष्ट्रिय हितप्रतिको संवेदनशीलता पनि उत्तिकै आवश्यक हुन्छ।
शुभकामनाको वास्तविक अर्थ त्यसलाई व्यवहारले कति साथ दिन्छ भन्ने कुराले निर्धारण गर्छ। नेपालले पनि यस्ता अवसरलाई सांस्कृतिक कूटनीतिको सम्भावनासँग जोड्न सक्छ। विदेशी नियोगका प्रतिनिधिलाई नेपाली कला, सङ्गीत, वास्तुकला, भाषा, साहित्य र परम्परासँग परिचित गराउने कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
नेपाली नयाँ वर्ष तथा प्रमुख चाडपर्वलाई नेपालको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय रूपमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्न सकिन्छ। यसबाट पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारमा समेत योगदान पुग्न सक्छ।
दसैँको शुभकामना दिँदै विदेशी दूतावासले नेपालीको खुसीमा साथ दिनु आफैँमा आत्मीयताको सानो संकेत हो। त्यस्तै, नेपाली सम्पदाको संरक्षणमा उनीहरूले गरेको सहयोग इतिहास र संस्कृतिप्रतिको सम्मानको ठोस अभिव्यक्ति हो। यी दुई पक्षलाई जोडेर हेर्दा कूटनीतिक सम्बन्धको मानवीय र सांस्कृतिक आयाम अझ स्पष्ट हुन्छ।
कूटनीतिक सम्बन्धको गहिराइ कति पटक उच्चस्तरीय भ्रमण भयो वा कति वटा सम्झौतामा हस्ताक्षर भए भन्ने कुराले मात्र मापन हुँदैन। एकअर्काको संस्कृति बुझ्ने, चाडपर्वको खुसीमा सहभागी हुने, इतिहास र सम्पदाको सम्मान गर्ने तथा कठिन समयमा साथ दिने व्यवहारले पनि सम्बन्धको वास्तविक चरित्र देखाउँछ।





