काठमाडौँ- बलिउड अभिनेता टाइगर श्राफमाथि भएको गोली प्रहार प्रकरणमा दिल्ली प्रहरीको स्पेशल सेलले दुई महिलासहित थप चार जनालाई पक्राउ गरेको छ।
यससँगै यो प्रकरणमा पक्राउ पर्नेहरूको संख्या अब सात पुगेको छ। टाइगरसँग जोडिएको गोली प्रहार प्रकरणमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ।
राजस्थानको कोटाबाट समातिएका तीन अभियुक्तहरुलाई मुम्बई क्राइम ब्रान्चको टोली बुधबार मुम्बई लिएर पुगेको थियो।
मुम्बई प्रहरीका अनुसार दिल्ली र हरियाणाको सोनीपतबाट पक्राउ परेका चारै जना अभियुक्तहरुमाथि मुम्बईमा हातहतियार आपूर्ति गराएको आरोप छ। हाल यस प्रकरणसँग जोडिएका सबै अभियुक्तहरुसँग सोधपुछ भइरहेको छ।
दिल्ली प्रहरीको स्पेशल सेलका डीएसपी प्रवीण त्रिपाठीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यी चार अभियुक्तहरुमध्ये एक कुणाल भर्खरै मात्र अर्का एउटा मुद्दामा जेलबाट रिहा भएको थियो र आफ्ना सहयोगी सुमितसँगै हतियार लिन अमृतसर गएको थियो।
डीएसपी त्रिपाठीले पत्रकारहरुसँग भने,‘मंगलबार एउटा विशेष टोलीले चार जनालाई पक्राउ गर्यो। यिनीहरुमा राधा र बबिता नामका दुई महिला तथा सुमित र कुणाल नामका दुई पुरुष छन्। अर्को मुद्दामा भर्खरै जेलबाट रिहा भएपछि कुणाल, अनिल पण्डितको निर्देशनमा आफ्नो साथी सुमतिसँग हतियार लिन अमृतसर गएको थियो।’
अमृतसरबाट हतियार लिएपछि उसले आफ्नो साथी राधाको मद्तले मुम्बई पुर्याएको थियो।
‘त्यहाँ एउटा तोकिएको ठाउँबाट हतियार लिएपछि उसले आफ्नी साथी राधाको मद्तले हतियार मुम्बई पुर्यायो। मुम्बईमा राधा र बबिताले रेल्वे स्टेसननजिकै एक नाबालक केटलाई हतियार सम्पेका थिए। कुणालले हतियार पुर्याउनका लागि राधा र बबितालाई प्रयोग गरेको थियो। राधासँग आफ्नो व्यक्तिगत सम्बन्धको फाइदा उठाएर उसले उनलाई यो काममा सामेल गराएको थियो। दुवै जना रेल चढेर हतियार लिई मुम्बई गएका थिए,’ उनले भने।
बाइक धनीको पनि खुल्यो पहिचान
मुम्बई प्रहरीले सुटरहरुले प्रयोग गरेको मोटरसाइकका पुराना धनीको पत्ता लगाएको छ। उनीहरूले प्रयोग गरेको बाइकका धनी रज्जब अली शेख भन्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ।
शेखले आफूले २५–२६ हजार रुपैयाँमा बाइक बेचेको बताएका छन्।
‘हामीले बाइक २५ देखि २६ हजार रुपैयाँमा बेचेका थियौँ। जब यो घटना मिडियामा आयो, प्रहरी हाम्रो घर पुग्यो। तब हामीलाई महसुस भयो कि हामीले जसलाई बाइक बेचेका थियौँ, उसले वा सायद अरु कसैले यसको प्रयोग गरेको हुन सक्छ,’ उनले भने।
बढाइयो सलमानको सुरक्षा
टाइगरमाथि भएको आक्रमणपछि मुम्बई प्रहरीले सलमान खानको सुरक्षा बढाएको छ। उनको घरभित्र र बाहिर साथै सडकका दुवैतर्फ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्।
दिल्लीमा पक्राउ परेका लरेन्स बिश्नोई समूहका चार सदस्यले सोधपुछका क्रममा सलमानको घरबाहिर गोली प्रहार गरेपछि टाइगरलाई निशाना बनाउने योजना रहेको बताएका थिए।
तर, सलमानको घरबाहिर कडा सुरक्षा रहेका कारण योजना पूरा हुन नसकेको उनीहरूले प्रहरीलाई बताएका छन्।




