काठमाडौँको गोँगबु नयाँ बसपार्कमा शनिबार विभिन्न गन्तव्य स्थानमा जानका लागि बस चढ्न आएका सर्वसाधारण नागरिक। तस्बिर : रासस
काठमाडौँ- दसैँ मनाउन पछिल्लो छ दिनमा सबा चार लाखभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। घटस्थापनादेखि असोज ३० गतेसम्म चार लाख २३ हजार ६६४ जना उपत्यकाबाट बाहिरिएका हुन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ गते ५२ हजार ८२७, २६ गते ५६ हजार ८०९, २७ गते ७८ हजार १३८, २८ गते ७४ हजार ९७९, २९ गते ८५ हजार ५६१ र ३० गते ७५ हजार ३५० यात्रुले उपत्यका छाडेका छन्।
दसैँ नजिकिएसँगै राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस गाउँ फर्किन थालेपछि बसपार्क र उपत्यकाबाट बाहिरिने नाकामा यात्रुको चाप बढेको छ। गोँगबुस्थित नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायत क्षेत्रमा घर जाने यात्रुको भीड बढेको ट्राफिक प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यात्रुको चापलाई ध्यानमा राखेर ट्राफिक व्यवस्थापन गरिएको छ। दसैँ मनाउन यात्रु फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै बाहिरिएका छन्।
यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीले पनि सवारीसाधनको व्यवस्थापन गरिरहेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण केही समस्या भए पनि सम्बन्धित निकायसँगको समन्वयमा बस व्यवस्थापन भइरहेको बताए।
महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ। दसैँमा परिवार र आफन्तसँग भेटघाट गरी चाड मनाउन राजधानीबाट बाहिरिने क्रम अझै बढ्ने अपेक्षा गरिएको छ।




