काठमाडौँ- नेपाल टेलिकमको सिमकार्ड लिन अब दूरसञ्चार कार्यालय धाइराख्नु नपर्ने भएको छ ।
सरकारले नागरिकले चाहेकै ठाउँमा सिमकार्ड पुर्याउने गरी ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गरेको छ । सञ्चारमन्त्री डा। बिक्रम तिमिल्सिनाले हिजो मन्त्रालयबाट यो सेवाको सुरुवात गरेका हुन्।
नयाँ सेवाअनुसार ग्राहकले टेलिकमको वेबसाइटमा गई ‘पोस्टल सिम पोर्टल’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कागजात छानबिनपछि अनलाइनबाटै सिमको ९० रुपैयाँ र हुलाक डेलिभरीको ७० रुपैयाँ गरी कुल १ सय ६० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।
भुक्तानी भएपछि नजिकैको हुलाकका कर्मचारीले सिमकार्ड घरमै पुर्याइदिनेछन् । सरकारले सहरी क्षेत्रमा भुक्तानी भएको २ घण्टाभित्र र ग्रामीण भेगमा ३ दिनभित्र सिमकार्ड पुर्याउने लक्ष्य राखेको छ ।
कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाकलाई आधुनिक सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै आउँदा दिनमा अन्य प्रशासनिक सेवालाई पनि डिजिटल बनाइने बताए।




