काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श, प्राविधिक तथा छात्रवृत्ति शाखाले कक्षा १ देखि ९ सम्म र कक्षा ११ का प्रमाणपत्र प्रमाणीकरण गर्दा कार्यालयको छाप र आधिकारिक हस्ताक्षर अनिवार्य गरेको छ।
शिक्षा विकास तथा समन्वय एकाइ, विश्वविद्यालय र स्थानीय तहलाई सम्बोधन गरी पत्र जारी गरिएको छ।
मन्त्रालयको सम्बन्धित शाखाले असोज २७ गते जारी गरेको पत्रमा प्रमाणपत्र प्रमाणीकरणका लागि सम्बन्धित निकायले प्रमाणित गरेका प्रमाणपत्रमा कार्यालयको छाप, प्रमाणीकरण गर्ने अधिकारीको आधिकारिक हस्ताक्षर, पद र मिति अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने जनाएको छ।
पत्रअनुसार कक्षा १ देखि ९ सम्म र कक्षा ११ का प्रमाणपत्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ वा स्थानीय तहबाट प्रमाणीकरण गरी पठाउनुपर्नेछ। उच्च शिक्षाका प्रमाणपत्र भने सम्बन्धित विश्वविद्यालयबाट प्रमाणीकरण गराउनुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले प्रमाणपत्र प्रमाणीकरणसम्बन्धी व्यवस्थाबारे सम्बन्धित सबैलाई जानकारी गराउँदै आवश्यक प्रक्रिया पूरा गरेर मात्रै प्रमाणपत्र प्रमाणीकरण गर्न अनुरोध गरेको छ।
यसैगरी, चारित्रिक प्रमाणपत्र र ‘जससँग सम्बन्धित छ’ जस्ता कागजातमा भने प्रमाणीकरण नगरिने पत्रमा उल्लेख छ।




