काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १४ जनामात्र केन्द्रीय सदस्य निर्वाचित भएका छन्। खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्दा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिने निर्वाचन समितिले जनाएको छ ।
विनिता खड्का विजेता भए पनि उनीमाथि अदालतमा मुद्दा रहेकाले हाललाई उनलाई निर्वाचन समितिले निर्वाचित घोषित नगर्ने भएको छ । उनी यसअघि महाधिवेशनकै समयमा खुलामन्चबाट पक्राउ परेकी थिइन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरेर ठगेको आरोपमा पक्राउ परेकी थिइन्। केहीदिन थुनामा बसेर छुटिइन्। तर उनको मुद्दा रहेको कारण देखाउँदै विजयी प्रमाणपत्र भने दिइएन।
प्राप्त मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६ मत पाएकी छिन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्। महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन् । त्यस्तै कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएकी छिन् ।




