नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा.डा. कट्टेल अभिनन्दित

हिमाल प्रेस २७ असोज २०८३ २०:१२ | Tuesday, October 13, 2026
10
SHARES
नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा.डा. कट्टेल अभिनन्दित

काठमाडौँ- सनातन विद्वत् परिषद् नेपालले नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा.डा. नवराज कट्टेललाई अभिनन्दन गरेको छ। परिषद्ले श्री १००८ स्वामी डा. रमणानन्द गिरिको उपस्थितिमा पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा मंगलबार एक कार्यक्रम आयोजना गरी कट्टेललाई अभिनन्दन गरेको हो।

परिषद्का अध्यक्ष प्रा. डा. दीर्घराज घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रममा प्रा. भवानीप्रसाद खतिवडाले शुभारम्भ मन्तव्य र प्रा. डा. आनन्दप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए। प्रा. डा. माधवप्रसाद पाण्डेयले अभिनन्दनपत्र वाचन गरेका थिए भने महेश गुरुकुलका पीठाधीश स्वामी डा. रमणानन्द गिरिले आशीर्वचन प्रदान गरेका थिए।

कट्टेलले संस्कृत भाषाको संरक्षण, संवर्द्धन र प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। गोरखापत्रमा संस्कृत समाचार सम्पादन, ‘जयतु संस्कृतम्’ अभियान सञ्चालन, संस्कृत सम्भाषण शिविर तथा सम्मेलन आयोजना र विभिन्न संस्कृत ग्रन्थको सम्पादन एवं प्रकाशनमा उनको उल्लेखनीय भूमिका छ।

कार्यक्रममा वक्ताहरूले नेपाल सरकारको संस्कृत विश्वविद्यालयप्रतिको दृष्टिकोण सकारात्मक हुनुपर्नेमा जोड दिए। नेपाललाई योग र देवभूमिका रूपमा चिनाउने पहिचान व्यवहारमा स्थापित गर्न संस्कृत शिक्षाको विकास आवश्यक रहेको उनीहरूको भनाइ थियो। विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै स्थापनाकालीन उद्देश्यअनुसार अघि बढाउनुपर्नेमा पनि उनीहरूले जोड दिए।

परिषद्का अध्यक्ष घिमिरेले दैनिक प्रशासन सञ्चालन गर्नु सामान्य प्रक्रिया भए पनि संस्कृत विश्वविद्यालयलाई यसको विशिष्ट उद्देश्यअनुरूप प्रभावकारी रूपमा सञ्चालन गर्न ऐन, नियम तथा कानुनमा आवश्यक संशोधन गर्नुपर्ने बताए। उनले कुलसचिव कट्टेलको सफल कार्यकालको कामनासमेत गरे।

अभिनन्दित कट्टेलले आफ्नो बाल्यकाल पशुपति क्षेत्रमा बितेको स्मरण गर्दै नेपाल वेदविद्याश्रम, गौशाला, काठमाडौँबाट विद्यारम्भ गरेको बताए। उच्चशिक्षा हासिल गरेपछि लामो समय नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन सेवामा बिताएको उल्लेख गर्दै उनले अहिले कुलसचिवको जिम्मेवारी पाएको र संस्कृत क्षेत्रको उन्नयन तथा विश्वविद्यालयको प्रगतिका लागि प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा सहभागीहरूले गुरुकुलीय परम्पराको संरक्षण, संस्कृत शिक्षाको उन्नयन र संस्कृत वाङ्मयको प्रचारप्रसारमा कट्टेलबाट थप योगदानको अपेक्षा व्यक्त गरे।

प्रकाशित: २७ असोज २०८३ २०:१२ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast