पाथीभरा मन्दिर
काठमाडौँ- दसैँको अवसरमा गुप्त सतचण्डी पाठपारायण सञ्चालन गरिएको छ। हेटौँडा उपमहानगरपालिका-१ भैरवडाँडास्थित पाथीभरा मन्दिरमा पाठपारायण सञ्चालन गरिएको हो।
महाकाली, महालक्ष्मी र महासरस्वती (दुर्गा) लाई प्रसन्न गर्न गरिने उच्च कोटिको वैदिक अनुष्ठानलाई सतचण्डी पाठपारायण भनिन्छ।
घटस्थापनाका दिनदेखि गुप्त सतचण्डी पाठपारायण भइरहेको मन्दिरका संस्थापक गुरु देवीदासले जानकारी दिए। घटस्थापनादेखि सुरु भएको पाठपारायण महानवमीका दिनसम्म सञ्चालन हुने भएको छ।
ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट ल्याइएको शिला, त्रिशूल र कलशलाई स्थापना गरी मन्दिर निर्माण गरिएको हो। मन्दिरमा नियमित पूजाआजका साथै २०६५ असोज १३ गतेबाट अखण्ड हवन भइरहेको छ।
ताप्लेजुङको पाथीभरा मन्दिर जान नसक्नेका लागि यो स्थान महत्वपूर्ण विकल्प बनेको छ।
प्रकाशित: २७ असोज २०८३ १६:५७ | Tuesday, October 13, 2026
प्रतिक्रिया




