गाउँमा हराउन थाले लिंगे पिङ, गाउँले भन्छन् : दसैँको रमाइलो हरायो

हिमाल प्रेस २६ असोज २०८३ १०:२४ | Monday, October 12, 2026
6
SHARES
गाउँमा हराउन थाले लिंगे पिङ, गाउँले भन्छन् : दसैँको रमाइलो हरायो

डडेल्धुरा-  दसैँको पर्यायवाची जस्तै बनेको पिङ गाउँघरबाट हराउँदै जान थालेको छ। आइतबार घटस्थापनासँगै यस वर्षको दसैँ घर–घरमा प्रवेश गरेको छ।

मठमन्दिरसहित घरमा घटस्थापना गरे पनि बजार र गाउँघरको चहलपहल भने निकै फरक छ। रोजगारीको सिलसिलामा विदेश गएका होस् या काम विशेषले सहर छिरेकाहरू होस्, यतिबेला मान्यजनको हातबाट दसैँको टीका थाप्न धमाधम जन्मघर फर्किरहेका छन्।

चार वर्षअघि रोजगारीको सिलसिलामा भारतको ब्याङ्गलोर बसेर फर्किएका नवदुर्गा गाउँपालिका–३ का सुरेश विकले वर्षौंवर्ष छुट्टिएका साथी भेट्दा रमाइलो हुने भए पनि चाडपर्वसँगै जोडिएका परम्परा र संस्कृतिको मौलिकतासँग जोडिएका परम्परागत कार्यको जगेर्ना नहुँदा पहिलेभन्दा यो दसैँ खल्लो लागेको बताए।

आलिताल गाउँपालिका–४ का जोगराज भट्टले भने, “सहरबजारमा त केही वर्ष पहिले नै पिङ हराउँदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले। यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ। पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गर्थ्यौं। वर्षौंसम्म पनि भेट नभएका साथी दसैँमा पिङ खेल्ने ठाउँमा जम्मा हुने बहाना बन्थ्यो। बालबालिकाको उत्साह पनि उस्तै हुन्थ्यो। पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराएजस्तो लाग्न थाल्यो।”

बजार क्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प र सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय हराउँदै गएको छ। पहिले टोल–टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेको अमरगढी नगरपालिका–३ की गीताञ्जली साउदले बताइन्।

गाउँघरमा पहिले–पहिले दसैँ आउनुभन्दा एक हप्ताअगाडि नै रोटेपिङ राख्ने गरिएकामा अहिले यो चलन हराउँदै गएको छ। अजयमेरु–३ का ८५ वर्षीय वृद्ध पदम एडीले भने, “पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बजारमा पाइने लट्ठा नभए बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो। अहिले सबै नौलो जस्तो बनेको छ। गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ।”

फाटफुट रूपमा कहीँ कतै पिङ राख्ने गरिएको भए पनि पहिलेभन्दा निकै कम भएको छ। लिङ्गेपिङलाई चार दिशामा बाँस गाडेर बाबियोबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपातेजस्ता फूल राखेर सिँगार्दा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिन्थ्यो। बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसले पिङ खेल्ने चलन भए पनि युवा पिङ खेल्नमा बढी नै उत्साही हुन्थे। तर बढ्दो प्रविधिले परम्परागत मौलिकता हराउन थालेको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने चलन हराउँदै जाँदा नेपाली पर्वको महत्त्व पनि विस्तारै हराउँदै जान थालेको छ। अझै गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने जनविश्वास रहिआएको छ।

मानिसहरू फेसबुक, इन्स्टाग्राम र टिकटकमा रमाउन थालेका छन्। अजयमेरु गाउँपालिकाका अध्यक्ष विकास भट्टले दसैँ र तिहारजस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो कि भन्ने चिन्ता लागेको बताए। अहिले मानिसले त्यसप्रति खासै चासो नदिने र सामाजिक सञ्जालमै व्यस्त हुने गरेको उनले बताए।

प्रकाशित: २६ असोज २०८३ १०:२४ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast