प्रा. हरिशरण उपाध्यायलाई संस्कृत विशेष सम्मान

हिमाल प्रेस २५ असोज २०८३ १७:०३ | Sunday, October 11, 2026
12
SHARES
प्रा. हरिशरण उपाध्यायलाई संस्कृत विशेष सम्मान

काठमाडौँ- संस्कृत भाषा, साहित्य र ज्ञानपरम्परामा योगदान पुर्‍याएका प्राध्यापक हरिशरण उपाध्यायलाई संस्कृत विशेष सम्मान प्रदान गरिएको छ।

जरोकिलो प्रतिष्ठान नेपालको आयोजनामा तथा काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागको सहआयोजनामा आइतबार राजधानीमा आयोजित कार्यक्रममा आचार्य पूर्णचन्द्र ढुंगेलले उपाध्यायलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन्।

प्रतिष्ठानका तर्फबाट मन्तव्य राख्दै प्राडा निर्मलमणि अधिकारीले २०७२ सालको घटस्थापनाका दिन संकल्पसहित स्थापना भएको जरोकिलो प्रतिष्ठानले जीवन्त सभ्यताको संस्कृति र ज्ञानपरम्परासम्बन्धी चिन्तनलाई अघि बढाउँदै आएको बताए। प्रतिष्ठानले विश्व संस्कृत दिवस मनाउनुका साथै संस्कृत भाषाको सेवामा योगदान गर्ने व्यक्तित्वलाई सम्मान र युवालाई अनुसन्धानवृत्ति प्रदान गर्दै आएको उनले जानकारी दिए।

संस्कृत भाषाको उन्नयनमा योगदान दिएका उपाध्यायजस्ता मनीषीलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको अधिकारीले बताए। प्राचीन समयमा ज्ञानको प्रसारसँग जोडिएको ऋषितर्पणीको परम्परालाई स्मरण गर्दै उनले संस्कृतको संरक्षण र प्रवर्द्धनमा समर्पित व्यक्तित्वको योगदानको कदर गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिस्ट्रार प्राडा नवराज कट्टेल, विश्व संस्कृत दिवसका सभापति एवं संयोजक प्राडा माधवप्रसाद पाण्डे, प्राडा निर्मलमणि अधिकारी, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष प्राडा मुकुन्दप्रसाद लामिछाने र टीएन जोशीलगायतले उपाध्यायको योगदानको चर्चा गर्दै संस्कृत भाषा, साहित्य र पूर्वीय ज्ञानपरम्पराको संरक्षण तथा प्रवर्द्धनमा जोड दिए। उनीहरूले संस्कृत शिक्षाको महत्त्व उजागर गर्दै नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा उपाध्यायद्वारा लिखित ‘शब्दब्रह्मशतक’को प्राडा नारायणप्रसाद खनालले गरेको अनुवादसमेत विमोचन गरिएको थियो। कृतिमाथि सहप्राध्यापक डा. केशवशरण अर्यालले समीक्षा गर्दै उपाध्यायको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानबारे चर्चा गरेका थिए।

कार्यक्रममा भुवनभास्कर नेपाल खत्रीले ‘जरोकिलो विचारधारा’ सम्बन्धमा संस्कृत भाषामा रचना गरेको कविता वाचन गरेका थिए।

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष प्राडा मुकुन्दप्रसाद लामिछानेले उपाध्यायजस्ता मूर्धन्य विद्वान्को सम्मान समारोहमा सहभागी भएर मन्तव्य राख्न पाउनुलाई आफ्नो जीवनकै सौभाग्य भएको बताए। उपाध्यायको उपस्थितिले वाल्मीकि ऋषिको आगमनको अनुभूति गराएको उल्लेख गर्दै उनले संस्कृत भाषा र ज्ञानपरम्परामा उनको योगदानको प्रशंसा गरे।

प्रकाशित: २५ असोज २०८३ १७:०३ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast