भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

हिमाल प्रेस २५ असोज २०८३ १९:५५ | Sunday, October 11, 2026
2
SHARE
भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौँ- भारतीय सरकारको आर्थिक सहयोगमा कोशी प्रदेशको सुन्दरहरैँचा नगरपालिकामा निर्माण भएको पञ्चायत माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ।

सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा निर्मित विद्यालय भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

विद्यालय भवन निर्माण कार्य उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको थियो। परियोजनाका कार्यान्वयन सुन्दरहरैँचा नगरपालिकाले गरेको थियो।

विद्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे। उनले नयाँ पूर्वाधारले सुन्दरहरैँचा नगरपालिकाका विद्यार्थी तथा शिक्षकहरुको सिकाइ वातावरण थप सुदृढ बनाउन मद्त गर्ने बताए।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पनि भारतको तर्फबाट भइरहेको विभिन्नखाले सहयोगको प्रशंसा गरेका थिए।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको सुरुवात भएयता विभिन्न क्षेत्रहरुमा भारत सरकारद्वारा नेपालका सबै प्रदेश र जिल्लाहरु समेट्ने गरी ६०५ वटा परियोजना सञ्चालन गरिएका छन्। जसमध्ये मोरङ जिल्लामा १७ सहित कोशी प्रदेशमा १०३ परियोजना सञ्चालनमा रहेका दूतावासले जनाएको छ।

यसका अतिरिक्त भारत सरकारले मोरङ जिल्लामा २१ वटा एम्बुलेन्स र १७ वटा स्कुल बससहित कोशी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरुलाई १५० वटा एम्बुलेन्स र ६२ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ।

प्रकाशित: २५ असोज २०८३ १९:५५ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast