गोरखा- गोरखाको चुमनुब्री गाउँपालिका-३, फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी नदीको अवरोध खुलेपछि आएको आकस्मिक बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्याएको छ।
आइतबार बिहान करिब ४:३० बजे लेदो तथा गेग्रानसहित आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
घटनापछि खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। सेनाको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा अवलोकन गर्नुका साथै पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको छ।
त्यसैगरी, काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको निर्देशनालयले जनाएको छ।
नेपाली सेनाको टोलीले नदी तटीय तथा आसपासका क्षेत्रमा रहेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान र उच्च भूभागमा आश्रय लिन आग्रह गरेको छ।



