बुटवल- नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई उत्साही बनाउन सक्नुपर्ने बताएका छन्।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ७३ औँ साधारणसभा तथा २६ औँ अधिवेशनलाई शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रलाई थुनेर समस्याको समाधान नहुने बताए।
उनले पछिल्लो समय उद्योगधन्दामाको व्यापारमा गिरावट आउनुका साथै बजार समेत सुस्ताएको बताउँदै यसलाई उठाउनका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए।
त्यस अवसरमा प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले यस क्षेत्रका निर्माण पूरा हुन नसकेका विकास योजनाहरु मोतिपुर औद्योगिक क्षेत्र, झुम्सा खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, औद्योगिक प्रदर्शनी स्थल लगायतलाई चाँडो सक्न सरकारको ध्यानआर्कषण गराएको बताइन्।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई व्यापारिक हबका रुपमा विकास गर्न स्थानीय सरकारको तर्फबाट समन्वय र सहकार्य भइरहेको बताइन्।
महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले भारतीय खुला सीमा, कर तथा राजस्व र लगानी सुरक्षाको विषयमा सरकारलाई ४२ बुँदे सुझाव दिएको बताए।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरीप्रसाद अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा नयाँ र पुरानो पुस्ता जोडेर संस्थागत विकासको काम गरेको बताए।
उनले उद्योगी, व्यवसायी, विज्ञहरुसँग छलफल गरी राजस्व, पूर्वाधार विकास र नीतिगत सुधारका कामहरु गरेको बताए। यसका साथै बुटवल उपमहानगरसँग जोडिएका विषयमा समेत संघका तर्फबाट असल नियतले कामहरु गरेको उनको भनाइ थियो।
साधरणसभाका अवसरमा संघको कार्यालय परिसरमा निर्माण गरिएको संस्थापक अध्यक्ष पद्यमचन्द्र श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ।
शालिक महासंघका अध्यक्ष श्रेष्ठले अनावरण गरेका हुन्। त्यसैगरी संघले २०४१ सालमा पहिलोपटक प्रकाशन गरेको स्मारिका पुनः मुद्रण तथा हाम्रो बुटवल स्मारिका २०८३ को विमोचन समेत गरेको छ।



