काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न भइरहेको मतदानको समय फेरि दुई घण्टा थप गरिएको छ।
साँझ ७ बजेसम्म हुने गरी मतदानको समय थप गरिएको हो।
यसअघि अपराह्न ३ बजेसम्म तय गरिएको मतदानको समय दुई घण्टा थपेर साँझ पाँच बजेसम्मका लागि निर्धारण गरिएको थियो।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजकु कटुवालले साँभ ७ बजेसम्म मतदानको समय कायम गरिएको जानकारी दिए।
‘…असोज २३ गते बिहानदेखि सुरू भएको मतदानका लागि पूर्वप्रकाशित सूचनामा दिउँसो ५ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा आज बेलुका ७ बजेसम्म मतदानको समय कायम गरिएको व्यहोरा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि÷मतदाता एवं सरोकारवालाहरुलाई सुचित गरिन्छ,’ कटुवालले निकालेको सूचनामा भनिएको छ।
पार्टीको नयाँ नेतृत्व चयन गर्न शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरू भएको हो। मतदान केन्द्रमा प्रतिनिधिहरु लाइन लागेका छन्।
नयाँ नेतृत्व चयन गर्न ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्ने कांग्रेसले जनाएको छ। मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितलाई गरी २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने छ।



