असन्तुष्ट नेताकार्यकर्तालाई समेटेर अघि बढ्छौँ : थापा

हिमाल प्रेस २३ असोज २०८३ ११:५८ | Friday, October 9, 2026
4
SHARES
असन्तुष्ट नेताकार्यकर्तालाई समेटेर अघि बढ्छौँ : थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशन प्रक्रियामा सहभागी नभएका तथा निर्वाचनमा पराजित भएका नेताकार्यकर्तालाई समेत समेटेर अघि बढ्ने बताएका छन्। महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्दै सबै नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका हुन्।

महाधिवेशन प्रक्रियामा सहभागी नभएको देउवा समूहलाई लक्षित गर्दै उनले भने,‘पार्टीका केही साथीहरू हाम्रो प्रक्रियामा सहभागी नभएर अहिले बाहिर हुनुहुन्छ। नेताहरू हुनुहुन्छ। हामी उहाँहरूलाई समेट्ने कोसिस गर्छौं। कोही पार्टी नै नयाँ खोलेर जान्छु भनेर भन्नुभयो भने त उहाँहरूको च्वाइस हो। तर कांग्रेसभित्रको असन्तुष्टि हो भने त्यसलाई सम्बोधन गर्ने कोसिस गर्छौं।’

थापाले महाधिवेशनमा प्रतिस्पर्धा गरेका र निर्वाचनमा पराजित भएका नेताहरूलाई पनि पार्टीमा समेटेर अघि बढ्ने बताए। कांग्रेसका प्रत्येक नेताकार्यकर्ता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने,‘कतिपय साथीलाई केन्द्रीय समितिमा फेरि जोडेर ल्याउने होला, कतिपय साथीलाई अरू जिम्मेवारी दिने होला। तर सबैलाई समेटेर लिएर जाने हो।’

आफू पनि विगतमा पार्टीको निर्वाचनमा पराजित भएर पुनः निर्वाचित भएको अनुभव सुनाउँदै थापाले पार्टीमा निरन्तर काम गरे सफल हुन सकिने बताए। उनले भने, ‘म यही ठाउँमा आएर एकदमै कम मत ल्याएर प्रतिस्पर्धामा हारेको हुँ। फेरि पनि पार्टीमै बसेँ, काम गरेँ, दुःख गरेँ। अर्को पटक एकदमै धेरै मत ल्याएर निर्वाचित भएँ।’

प्रकाशित: २३ असोज २०८३ ११:५८ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast