काठमाडौँ- नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडा बढाइएको भन्ने गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीसँग छलफल गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) को सक्रियतामा क्यानले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा बोलाएको हो।
छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री तथा वितरण गर्ने र स्वीकृत भाडादरबारे सम्बन्धित वायुसेवाको बिक्री वितरण प्लेटफर्ममा सूचना प्रकाशन गर्ने सहमति भएको छ।
तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयअनुसार २०७२ मंसिर २७ गते आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतमसम्मको भाडादर निर्धारण गरिएको थियो।
उक्त स्वीकृत भाडादरअनुसार नै हवाई टिकट बिक्रीवितरण गर्नुपर्ने व्यवस्था रहेको छ।



