काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा चर्किनुपर्ने समयमा केही आकांक्षी भने मैदानबाटै पछि हटेका छन्। अझ रोचक त के छ भने उम्मेदवारी फिर्ता लिनेमध्ये केहीले यसको कारण सभापति गगनकुमार थापाको आग्रहलाई बताएका छन्।
सभापतिका आकांक्षी किशोरसिंह राठौरदेखि उपसभापतिका आकांक्षी देवराज चालिसे र डा. मीनेन्द्र रिजालसम्मले अन्तिम घडीमा उम्मेदवारीबाट पछि हटे। कांग्रेसको आधिकारिक अन्तिम नामावलीमा सभापतिको उम्मेदवारमा गगन थापा र श्यामकृष्ण खड्गी मात्रै छन्।
यससँगै कांग्रेसभित्र एउटा प्रश्न उठेको छ- आन्तरिक प्रतिस्पर्धाका लागि चिनिएको कांग्रेसमा आकांक्षीहरू किन एकपछि अर्को गर्दै गगनको नाममा त्याग गर्न तयार भए?
सभापतिमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका थिए। अन्तिम समयसम्म पुग्दा राठौर मैदानबाट बाहिरिए। त्यसपछि सभापतिमा थापा र खड्गीबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ।
राठौरले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसमा आकांक्षीहरूलाई ‘मिलाएर’ अघि बढाउने थापा रणनीतिबारे बहस सुरु भएको छ। तर राठौरको फिर्ताको निर्णयमा दबाब थियो वा स्वेच्छा, त्यसको औपचारिक जानकारी कसैले दिन सकेको छैन।
उपसभापतिका उम्मेदवार देवराज चालिसेको हकमा भने कारण खुलाइएको छ। उनले सभापति थापाको विशेष आग्रहपछि उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
चालिसेले सामाजिक सञ्जालमा आफ्नो निर्णय पार्टीको एकता, संस्थागत मर्यादा र सामूहिक हितलाई ध्यानमा राखेर गरिएको उल्लेख गरेका छन्। उनले पदभन्दा पार्टीलाई प्राथमिकता दिएको सन्देश दिएका छन्।
चालिसेको भनाइले कांग्रेसभित्र उम्मेदवारी फिर्ताको अर्को पाटो पनि देखाउँछ। उनी आफैँले सभापतिको राजनीतिक निर्णयको सम्मान गर्दै पछि हटेको बताएका छन्।
यहाँ उम्मेदवारी फिर्ता हुनु मात्रै विषय होइन। सभापतिको टिममा सबै आकांक्षीलाई प्रतिस्पर्धामा उतार्नेभन्दा सीमित व्यक्तिलाई अघि सारेर बाँकीलाई अन्य भूमिकामा व्यवस्थापन गर्ने प्रयास भएको देखिन्छ।
डा. मीनेन्द्र रिजालको निर्णय पनि यस्तै देखिन्छ। उपसभापतिमा उम्मेदवारी दिएका रिजालले गगन थापासँग लामो संवादपछि पदमा प्रतिस्पर्धा नगर्ने निर्णय गरेका हुन्।
थापासँगको संवादपछि रिजालले आफ्नो प्राथमिकता पद नभई कांग्रेसलाई योगदान गर्नु रहेको बताएका छन्। थापाले पनि रिजालको अनुभव, ज्ञान र बौद्धिक क्षमताको उपयोग पार्टीमा गर्नुपर्ने धारणा राखेका थिए। त्यसपछि रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिने बताएका हुन्।
यसरी हेर्दा गगनको आग्रहले कम्तीमा दुई जना आकांक्षीलाई चुनावी मैदानबाट बाहिर निकालेको तथ्य उनीहरूकै सार्वजनिक अभिव्यक्तिले पुष्टि गर्छ। तर यसलाई ‘दबाब’ नै भन्ने कि नेतृत्वको आग्रहलाई सम्मान गर्दै गरिएको स्वेच्छिक त्याग भन्ने त्यो भने सम्बन्धित नेताहरूको अभिव्यक्तिमै निर्भर हुन्छ।
रिजालको निर्णयमा ‘पदभन्दा पार्टी’ भन्ने तर्क अगाडि आएको छ। चालिसेले पनि सभापतिको आग्रहलाई सम्मान गर्दै पछि हटेको बताएका छन्।
यसले कांग्रेस महाधिवेशनको चुनावी गणितमा नयाँ प्रश्न जन्माएको छ- आकांक्षीहरू आफ्नै राजनीतिक भविष्यका लागि चुनाव लड्न आएका हुन् कि सभापतिको टिम व्यवस्थापनका लागि आफ्नो आकांक्षा त्याग्न?
कांग्रेसमा आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाको बहस नयाँ होइन। विगतका महाधिवेशनमा गुट, समूह र धार निर्माण गर्दै नेतृत्वमा चुनौती दिने परम्परा कांग्रेसको राजनीतिमा देखिँदै आएको छ।
गगन स्वयं पनि त्यही प्रतिस्पर्धाको राजनीतिबाट नेतृत्वमा आएका नेता हुन्। १३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको नेतृत्वमा भिन्न धार निर्माणदेखि १४ औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित हुँदासम्म उनले पार्टीभित्रको प्रतिस्पर्धालाई आफ्नो राजनीतिक यात्राको आधार बनाएका थिए।
अहिले उनी आफैँ सभापति छन्। सभापतिको हैसियतमा उनीमाथि अर्को जिम्मेवारी थपिएको छ- आफ्नो टिमलाई एकताबद्ध राख्ने र नेतृत्वका आकांक्षीहरूलाई व्यवस्थापन गर्ने।
कांग्रेसमा अहिले देखिएको दृश्यलाई ‘दबाब’ मात्रै भनेर बुझ्नुभन्दा ‘गगनको नाममा गरिएको त्याग’ का रूपमा पनि हेर्न सकिन्छ।
चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिँदा सभापतिको आग्रहलाई सम्मान गरेको बताएका छन्। रिजालले पदभन्दा पार्टीलाई प्राथमिकता दिएको बताएका छन्। राठौर पनि अन्तिम नामावलीमा छैनन्। यसले अर्को प्रश्न भने अनुत्तरित छ- कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो बनाउने नाममा नेतृत्वमा आएका गगनले अब प्रतिस्पर्धालाई व्यवस्थापन गरेर एकल टिम निर्माण गर्न खोजेका हुन्?
यदि हो भने यो गगनको नेतृत्व शैलीमा आएको परिवर्तनको संकेत हुन सक्छ। हिजो प्रतिस्पर्धाबाट आफ्नो स्थान बनाएका गगन आज अरूलाई प्रतिस्पर्धाबाट पछि हटाएर आफ्नो टिम व्यवस्थापन गरिरहेका छन्।
नेताहरूलाई थापाले दबाब दिएकै हुन्?
कतिपय नेताहरूले उम्मेदवारी फिर्ता लिए भने केहीले मनोनयन गरेनन्। केही नेता भने आफूले चाहेको भन्दा अर्को पदमा उम्मेदवारी दर्ता गर्न बाध्य भए। केही समयअघि महामन्त्रीमा उम्मेदवारी दिने भनेका नेता रामहरि खतिवडाले सहमहामन्त्रीमा मनोनयन गरे।
‘टिममा अटेर जानुपर्छ भन्ने सन्देश आयो। एक तह तल झरियो,’ राष्ट्रियसभा गृहमा मत मागिरहेका खतिवडाले भने, ‘टिमलाई अघि बढाउनुपर्यो। त्यही कारण निर्णय परिवर्तन गरेँ।’ कांग्रेसमा केही पदमा तीव्र प्रतिस्पर्धा छ भने केहीमा ‘सर्वसम्मति’ समेत भएको छ।
अन्य उम्मेदवारले समेत प्रतिस्पर्धा नगर्न सभापतिले अनुरोध गरेको बताएका छन्। ‘उपयुक्त मान्छेले हार्नु हुँदैन भन्ने सभापतिको सुझाव आएको छ। त्यही कारण हामीले उम्मेदवारी दिन सकेनौँ’, सहमहामन्त्रीका एक आकांक्षी नेताले भने, ‘यसपटक सभापतिलाई अप्ठ्यारो नपार्ने मनसाय आयो। पछि हटियो।’ नेताहरूका अनुसार थापाले घुमाउरो शैलीमा उम्मेदवारी नदिनसमेत दबाब दिएका थिए।
‘टिममा असर नपारौँ भन्ने भयो। हार्न त सकिन्थ्यो होला तर सभापतिले नै भनेपछि कसरी अप्ठ्यारोमा पार्ने र?’ ती नेता भन्छन्। गगन लामो समयदेखि कांग्रेसमा ‘आन्तरिक लोकतन्त्र’का लागि वकालत गर्दै आएका नेता हुन्।
गगनले १३ औँ महाधिवेशन (२०७२) मा तेस्रो धार निर्माण गर्न भन्दै नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा टिम खडा गरेका थिए। कांग्रेसमा परम्परादेखि चलिरहेको दुई गुटीय राजनीति १३ औँ महाधिवेशनमा तीन धारमा परिणत भएको जानकारहरू बताउँछन्।
गगन १४ औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवाको इतर मानिने डा. शेखर कोइराला समूहबाट चुनाव लडे। शेखरले सभापति नजिते पनि गगनले महामन्त्री हत्याए। कांग्रेसमा विद्रोहको धार अर्थात् ‘फरकपन’ ल्याउने नेता मानिने थापा अहिले सर्वसम्मत अघि बढाउने प्रयासमा छन्।
कांग्रेस नेता देवराज चालिसे पार्टीमा प्रतिद्वन्द्विता कायम गर्न भन्दा मिलेर जानुपर्ने बताउँछन्। ‘मतदान लोकतान्त्रिक संस्कार हो। तर सधै लागु हुन्छ भन्ने होइन,’ उनी भन्छन्, ‘पार्टीमा कहिलेकाहीँ ह्वाट् यु डिड हुनुपर्छ, सधैँ ह्वाट् यु ह्याभ बनेर पनि हुन्न नि।’
कांग्रेसमा देउवा समूहबाट आएका धेरै नेता उम्मेदवारीबाट वञ्चित भएका छन्। भीष्मराज आङदेम्बे, बालकृष्ण खाण, डा.मीनेन्द्र रिजाल, डा. अर्जुननरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा पनि उम्मेदवार दिनबाट रोकिए। उनीहरूलाई थापाले नै उपयुक्त जिम्मेवारी दिने भन्दै रोकेको नेताहरूको दाबी छ।




