काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा चलिरहँदा पार्टीभित्रको विभाजनको अर्को पाटो पनि सतहमा आएको छ। पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले गगन थापालाई सभापति स्वीकार गर्न नसकेर छुट्टै महाधिवेशनको तयारी गरिरहेका बेला देउवा खेमाबाट गगन थापाको पक्षमा आएका प्रभावशाली नेताहरू भने नियमित महाधिवेशनमा उम्मेदवार बन्नबाट पछि हटेका छन्।
महाधिवेशनको केन्द्रीय नेता बन्न १८ वर्षीय किशोरीदेखि ७० वर्षीय पाका नेता समेत मैदानमा छन्। तर कांग्रेसका नेतृत्वको रस्साकस्सी चलिरहदा इतरपक्षको ठूलो पंक्ति महाधिवेशनमै सहभागी भएन। कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकटस्थ समूह थापालाई सभापति मान्न नसक्ने भन्दै अर्को महाधिवेशनतिर होमिएको छ।
देउवा समूहको नेतृत्व शशांक कोइरालाले गरेका छन् भने सोही समूहमा डा.शेखर कोइराला विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.प्रकाशशरण महत, रमेश लेखक, एनपी साउदसहितका नेता छुट्टै महाधिवेशन गर्न लागेका छन्।
लामो समय लिगेसी बोकेका नेताहरू संलग्न नहुँदा कांग्रेसलाई आगामी दिनमा धक्का लाग्ने नेताहरू सुनाउँछन्। अहिले सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी मैदान उत्रिएका छन्। सभापतिका उम्मेदवार किशोरसिंह राठौरले भने गगनका पक्षमा समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्।
सभापतिको प्रतिस्पर्धाभन्दा बाहिर कांग्रेसको अर्को चित्र देखिन्छ- लामो समय देउवा समूहमा रहेका र पछिल्लो समय थापा नेतृत्वको संस्थापनतिर खुलेका केही प्रभावशाली नेता नै यसपटक केन्द्रीय पदाधिकारीको प्रतिस्पर्धाबाट बाहिरिएका छन्। उनीहरू उम्मेदवार नबन्दा फेरि संस्थापन खेमामा पनि असन्तुष्टि बढेको हो कि भन्ने आशंका छ। यसअघि उम्मेदवारी दिने भनेर घोषणा गरेका केही नेता समेत मनोनयनमा पछि हटेका छ्। यसरी पछि हट्ने केही नेताहरू यस प्रकार छन् :
भीष्मराज आङदेम्बे : संसदीय भूमिकामै सीमित
कुनै समय देउवा समूहका विश्वासपात्र मानिने भीष्मराज आङदेम्बे अहिले थापा समूहमा छन्। २०८२ सालको चुनावमा तत्कालीन सभापति देउवाले उनलाई समानुपातिक सूचीमा राखेका थिए। उनी समानुपातिक सांसदहुन्। थापा नेतृत्वमा आएपछि आङदेम्बे प्रतिनिधिसभाको संसदीय दलको नेता बने। १५औँ महाधिवेशनमा उनी उपसभापतिको आकांक्षी थिए। महाधिवेशनस्थलबाटै उनले उपसभापतिको संख्या तीन भए आफूले उम्मेदवारी दिने बताएका थिए।
तर अन्ततः उनले उम्मेदवारी दिएनन्। आङदेम्बे निकट नेताहरूका अनुसार सभापति थापाले उनलाई संसदीय भूमिकामै केन्द्रित हुन आग्रह गरेका थिए। ‘मलाई पदाधिकारीभन्दा पनि संसदीय भूमिकामै रहनुहोस्, दोहोरो जिम्मेवारीमा नरहनुहोस् भन्ने कुरा आयो। त्यसकारण छाडेँ,’ आङदेम्बेको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने।
आङदेम्बे १४औँ महाधिवेशनमा देउवा प्यानलबाट सहमहामन्त्री निर्वाचित भएका थिए। लामो समय देउवा खेमामा रहेका उनी संसदीय दलको नेता बन्ने सहमतिपछि थापा समूहमा खुलेका थिए।
बालकृष्ण खाण : देउवाका दाहिने हातदेखि मौन दर्शकसम्म
देउवाका निकट सहयोगीमध्ये एक मानिने बालकृष्ण खाण केन्द्रीय प्रतिस्पर्धाबाट बाहिर छन्। १४औँ महाधिवेशनमा देउवालाई सभापति बनाउन खाणले महत्त्वपूर्ण भूमिका खेलेका थिए। दोस्रो चरणको निर्वाचनमा देउवाका पक्षमा समर्थन जुटाउनेदेखि मत माग्नेसम्म उनी अग्रपंक्तिमा थिए। देउवा सभापतिमा निर्वाचित हुँदा खाण केन्द्रीय सदस्यमा मात्र उम्मेदवार बने।
खाण पछिल्लो समय थापा समूहमा खुलेका थिए। यद्यपि यसपटक उनले केन्द्रीय तहको कुनै पदमा उम्मेदवारी दिएका छैनन्। यसबारे जिज्ञासा राख्दा उनले भने, ‘म महाधिवेशनमा सहभागी छु। म यसैमा खुसी छु। अहिलेलाई यति नै बुझ्नुहोस्। अन्य कुरा भोलि भन्छु।’
उनका निकट नेताहरू भने खेमा परिवर्तन र भुटानी शरणार्थी प्रकरणलाई उम्मेदवारीबाट पछि हट्नुका कारणका रूपमा व्याख्या गर्छन्। लामो समय देउवा समूहमा रहेको पृष्ठभूमि र पछिल्लो राजनीतिक संकटका कारण उनी यसपटक केन्द्रीय पदाधिकारीको प्रतिस्पर्धामा नउत्रिएको उनीहरूको भनाइ छ।
देउवालाई १४औँ महाधिवेशनमा सभापति बनाउन खाणले निर्णायक भूमिका खेलेका थिए। सभापतिको चुनाव दोस्रो चरणमा जाँदा पराजित उम्मेदवारलाई मिलाउनेदेखि देउवालाई भोट माग्न अग्र पंक्तिमा खाण थिए। उनी देउवा सभापतिमा जिताउन आफू केन्द्रीय सदस्यमा लडे भने पदाधिकारीमा उम्मेदवार नै बनेनन्।
कांग्रेस नेताहरूका अनुसार उनी गुपचुट गगन पक्षमा आएका थिए। खाण निकट नेताहरूका अनुसार उनी उम्मेदवार नबन्नुको कारण खेमा फेरिनु र भुटानी शरणार्थी काण्ड हुन्।
ज्ञानेन्द्रबहादुर कार्की : संस्थापनमा आए, तर दौडमा आएनन्
देउवा समूहबाट बाहिरिएर थापा समूहमा आएका अर्का प्रभावशाली नेता हुन्छ- ज्ञानेन्द्रबहादुर कार्की।
देउवा सभापति रहँदा उनको नाम पदाधिकारीका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आइरहन्थ्यो। तर यसपटक उनी न पदाधिकारीको निर्वाचनमा उठे, न कुनै प्रमुख पदको दाबेदार बने।
कांग्रेस नेताहरूका अनुसार जेनजी आन्दोलनअघिसम्म कार्की पदाधिकारीको उम्मेदवार बन्ने तयारीमा थिए। तर त्यसपछि विकसित राजनीतिक घटनाक्रम र विशेष महाधिवेशनले देउवा समूहलाई कमजोर बनाएसँगै उनको राजनीतिक समीकरण पनि बदलियो।
विशेष महाधिवेशनमा सहभागी नभएका कार्की अहिले थापा समूहमा देखिए पनि पदाधिकारीको दौडमा भने देखिएनन्।
मीन विश्वकर्मा : महामन्त्रीको आकांक्षाबाट पछि
देउवा समूहबाट केही समयअघि मात्र थापा समूहमा आएका मीन विश्वकर्माको नाम पनि महाधिवेशनअघि महामन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चामा थियो। तर अन्तिम समयमा उनी उम्मेदवारीको दौडबाट बाहिरिए।
‘मैले महामन्त्री लड्छु भनेको थिएँ। सभापति-उपसभापतिबाट पनि हुन्छ भन्नुभएको थियो। तर आकांक्षी धेरै भइयो। अनि अटाउने स्थिति आएन,’ विश्वकर्माले भने, ‘नेतृत्वले अहिले पछि हट्नुहोस्, हामी मिलाउँछौँ भनेपछि म बाहिरिएको हुँ।’ १४औँ महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्रीका उम्मेदवार बनेका विश्वकर्मा शेखर कोइराला समूहका जीवन परियारसँग पराजित भएका थिए।
ईश्वरी न्यौपाने : घोषणा गरिन्, मनोनयन गरिनन्
देउवा नेतृत्वमा प्रतिनिधिसभाको सचेतक र संसदीय सुनुवाइ समितिको सभापतिको जिम्मेवारी सम्हालिसकेकी ईश्वरी न्यौपाने पनि पछिल्लो समय थापा समूहमा खुलेकी थिइन्।
तीनपटक केन्द्रीय सदस्य बनिसकेकी न्यौपानेले १५औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। तर अन्तिममा उनले मनोनयन दर्ता गरिनन्।
‘सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुँ। तर मनोनयन गर्ने अवस्था देखिएन,’ उनले भनिन्।
पुरानो गुटको ठाउँमा नयाँ गुट?
कांग्रेसको १५औँ महाधिवेशनले नेतृत्व परिवर्तनको सन्देशसँगै गुट परिवर्तनको अर्को चित्र पनि देखाएको छ। देउवा समूह महाधिवेशनमै सहभागी नभएको अवस्थामा देउवा समूहबाट थापा नेतृत्वतिर आएका प्रभावशाली नेताहरू पनि चुनावी मैदानमा नदेखिनुले कांग्रेसभित्र नयाँ समीकरण बने पनि त्यसको व्यवस्थापन सहज नभएको संकेत गर्छ।
एकातिर देउवा समूहले थापालाई स्वीकार गर्न नसकेर भिन्नै महाधिवेशनको तयारी गरिरहेको छ। अर्कोतिर थापा नेतृत्वको संस्थापनमा आएका पुराना प्रभावशाली नेताहरू नै पदाधिकारीको दौडबाट बाहिरिएका छन्।




