हुम्ला ‘अचानक’ हिउँ परेपछि जनजीवन प्रभावित

हिमाल प्रेस २१ असोज २०८३ १०:०३ | Wednesday, October 7, 2026
हुम्ला ‘अचानक’ हिउँ परेपछि जनजीवन प्रभावित

हुम्ला- हुम्लामा गएरातिदेखि वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।

नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ । यता, अदानचुली, ताँजाकोटलगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ ।

लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ । कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि यातायात समेत प्रभावित भएको सर्केगाड–१, जैरको खच्चाबाट दीपक कार्कीले बताए ।

वर्षाले पाक्न लागेको तथा खेतबारीमा रहेको अन्नबाली, तरकारी लगायतका बालीमा पनि क्षति पुग्ने जोखिम बढेको छ । केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

वर्षा र हिमपातका कारण पशुचौपायालाई समेत समस्या भएको छ । चिसो बढेपछि खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा संरक्षणमा समस्या भएको जनाइएको छ ।

अचानक मौसममा आएको परिवर्तनसँगै जिल्लाका उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित क्षतिप्रति सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा हिमपात तथा वर्षा भइरहेकाले सुरक्षित रहन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताए । वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र अहिले पनि निरन्तर वर्षा भइरहेको उनले बताए । रासस

 

प्रकाशित: २१ असोज २०८३ १०:०३ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast