ग्लोबल आइएमई बैंक लिमिटेडको डीसीईओ दीपचन्द्र रेग्मी
काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी बढुवा भएका छन्।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो। उनी यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। रेग्मीले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका थिए । सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध भएका उनले बैंकमा प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखलगायतका जिम्मेवारी सम्हालिसकेका छन्।
उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्। रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ । बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ । यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ तथा बेष्ट बैंक ईएसजी नेपाल २०२४ लगायतका पुरस्कारसमेत प्राप्त गरेको छ ।
बैंकका अनुसार ग्लोबल आइएमई बैंक सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । हाल बैंकले ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको जनाएको छ । बैंकले यसमार्फत राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको बताएको छ ।



