स्थिर सरकारका लागि सबै दलसँग सहकार्य गर्छु : नवनियुक्त मुख्यमन्त्री शाह

हिमाल प्रेस २७ माघ २०७९ १९:३८ | Friday, February 10, 2023
स्थिर सरकारका लागि सबै दलसँग सहकार्य गर्छु : नवनियुक्त मुख्यमन्त्री शाह मुख्यमन्त्री कमलबहादुर शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबै राजनीतिक दलहरूसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

नवगठित सरकारलाई निरन्तरता दिँदै स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने उनको भनाइ छ। मुख्यमन्त्री शाहले एक महिनाभित्र जतिसक्दो छिटो विश्वासको मत लिनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे। विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् गठन गर्ने उनले जानकारी दिए।

लामो राजनीतिक यात्रापछि जनताले विश्वास गरेर संविधानको व्यवस्थाअनुसार आफूलाई सुदूरपश्चिमको नेतृत्व दिएकोमा उनले खुसी व्यक्त गरे।

‘संविधानअनुसार मैले मुख्यमन्त्रीको जिम्मेवारी पाएको छु। यस पदको अवसरको सदुपयोग गर्दै देखिएका चुनौतीको सामना गर्दै सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै सरकारलाई अघि बढाउँछु,’ उनले भने।

यसअघिका मुख्यमन्त्री नेकपा एमालेका राजेन्द्रसिंह रावलले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि १ महिनामै मुख्यमन्त्री पदबाट बाहिरिए। त्यसपछि सभाको ठूलो दलको हैसियतमा शाह बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रकाशित: २७ माघ २०७९ १९:३८ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast