कांग्रेस १५औं महाधिवेशन : विश्वप्रकाशको समसामयिक प्रतिवेदनमा के छ?

हिमाल प्रेस २० असोज २०८३ १३:०७ | Tuesday, October 6, 2026
कांग्रेस १५औं महाधिवेशन : विश्वप्रकाशको समसामयिक प्रतिवेदनमा के छ?

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनको बन्द सत्रमा ‘समसामयिक प्रतिवेदन-२०८३’ प्रस्तुत गरेका छन्। ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ मूल नारासहित प्रस्तुत प्रतिवेदनमा देशको विद्यमान राजनीतिक अवस्था, लोकतान्त्रिक संस्कारको जगेर्ना, आत्मसमीक्षा, विगत ३५ वर्षका उपलब्धि तथा पार्टी र राज्य प्रणाली सुधारका विभिन्न विषय समेटिएका छन्।

प्रतिवेदनको सुरुवातमै शर्माले भोटेकोशी विपद्लगायत देशका विभिन्न भागमा भएका प्राकृतिक प्रकोपमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। मानवीय क्षति र भौतिक संरचनामा ठूलो क्षति भएको अवस्थामा आग्रह पूर्वाग्रहभन्दा माथि उठेर कांग्रेसले सरकारलाई निरन्तर साथ दिएको र दिइरहने उनले उल्लेख गरेका छन्। प्रतिपक्षमा रहे पनि कांग्रेसले आवेग, अनपेक्षित द्वन्द्व र निराशालाई प्रश्रय नदिई जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

पार्टीको ऐतिहासिक निरन्तरताको स्मरण गर्दै शर्माले बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला तथा निवर्तमान सभापति शेरबहादुर देउवाप्रति सम्मान व्यक्त गरेका छन्। कांग्रेस इतिहास, आन्दोलन र समावेशिताको बलियो प्रतिनिधि शक्ति भएकाले अब इतिहासको ‘ज्येष्ठ’ दलका रूपमा मात्र नभई विचार र आचरणमा पनि ‘श्रेष्ठ’ साबित हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिवेदनमा राजनीतिक संस्कृतिमा देखिएका कमजोरीको आत्मसमीक्षा गर्दै संविधानको अपनत्व बढाउन र संसदीय लोकतान्त्रिक पद्धतिलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने उल्लेख गरिएको छ। विधि वा कानुन उल्लंघन गर्ने जोसुकैले त्यसको व्यक्तिगत रूपमा सामना गर्नुपर्ने र व्यक्तिको गल्तीको भागीदार सिंगो संस्था वा पार्टी बन्न नसक्ने धारणा प्रतिवेदनमा अघि सारिएको छ।

आवधिक निर्वाचन हुनु मात्रै लोकतन्त्र नभएको भन्दै निर्वाचन प्रणालीमा बढ्दै गएको फजुल खर्च, अपारदर्शिता र गुटबन्दी नियन्त्रण गर्न ‘इलेक्सन ब्युरो’ जस्ता नवीन अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने प्रस्ताव गरिएको छ। शासकीय संयन्त्र र राज्यले नागरिकका न्यूनतम मानवीय संवेदनशीलता तथा सुकुम्बासी, राहत र न्यायका विषयलाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइएको छ। चुनावमा प्राप्त हुने मतभन्दा नागरिकको जीवन र मर्यादा महत्वपूर्ण हुने प्रतिवेदनमा उल्लेख छ।

पछिल्लो पुस्ता, विशेषगरी जेनजीमा राजनीतिप्रति देखिएको निराशा र वितृष्णालाई सम्बोधन गर्न नेतृत्व निरन्तर एउटै व्यक्तिको हातमा रहने परिपाटी अन्त्य गर्नुपर्ने शर्माले बताएका छन्। उनले नेतृत्वलाई ‘बगिरहने नदी’ जस्तै गतिशील बनाउनुपर्ने धारणा अघि सारेका छन्। ‘बितेको ३५ वर्षमा देशमा केही भएन’ भन्ने नकारात्मक भाष्यलाई तथ्यका आधारमा खण्डन गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ। जलविद्युत्, सडक सञ्जाल, दूरसञ्चार, शिक्षा तथा आर्थिक सूचकांकमा भएका प्रगतिलाई प्रस्तुत गर्दै समाजमा सकारात्मक सोच अभिवृद्धि गर्नुपर्ने उल्लेख गरिएको छ।

पार्टी सुधारका लागि प्रतिवेदनमा विभिन्न कार्ययोजना अघि सारिएको छ। व्यक्तिको देवत्वकरण वा दानवीकरण नगर्ने, विचार समूहका नाममा पार्टीभित्र स्थायी गुटबन्दी अन्त्य गर्ने, ‘इलेक्सन ब्युरो’ मार्फत निष्पक्ष उम्मेदवार चयन गर्ने तथा निर्वाचन प्रचारमा हुने भड्किलो खर्च र अपारदर्शितामा कानुनी रोक लगाउने प्रस्ताव गरिएको छ।

त्यस्तै, घोषणापत्र कार्यान्वयनको वार्षिक समीक्षा गर्ने, जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बनाउने र सामाजिक सञ्जालको सदुपयोग गर्दै स्वस्थ लोकतान्त्रिक बहसको वातावरण निर्माण गर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ। शर्माले कांग्रेसलाई नयाँ ऊर्जा र नवीन आशासहित जनताको भरपर्दो भरोसाको केन्द्र बनाउन १५औँ महाधिवेशनले नीति र नेतृत्व दुवै तहमा युगानुकूल निर्णय लिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २० असोज २०८३ १३:०७ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast