काठमाडौँ- यसपालि दसैँमा काठमाडौँ उपत्यकामा मात्र ४० हजार संख्यामा खसीबोका र च्यांग्राको खपत हुने भएको छ ।
दसैँमा मासुको उपभोग अत्यधिक हुने हुँदा खसीबोकोको खपत धेरै हुने गर्छ । गत वर्ष दसैँमा उपत्यकामा ५० हजारदेखि ५५ हजारको सङ्ख्यामा खपत भएकोमा यस वर्ष त्योभन्दा घटेर ४० हजारदेखि ४२ हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान गरिएको काठमाडौँ चौपाया खरिदबिक्री सङ्घले जनाएको छ ।
बाढीपहिरोका कारणले खसीबोका ल्याउन कठिन हुने र मूल्य बढेका कारण कम खपत हुने व्यवसायीले अनुमान गरेका छन् । दसैँमा उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोका खपत हुने गर्दा व्यवसायीले गाउँ गाउँमा गएर खरिद गरी ल्याएर बिक्री गर्छन् ।
सङ्घका अध्यक्ष जीवनराज खड्काले रसुवाको भोटेकोशीमा गएको बाढीले जनधनको ठुलो क्षति पुर्याएको र पछिल्लो समय आएको अविरल वर्षाले ठाउँ ठाउँमा बाटो भत्किएकाले खसीबोका ल्याउन कठिन हुँदा खपत घट्ने जानकारी दिए।
विगतका वर्षमा उपत्यकामा धेरै सङ्ख्यामा खसीबोका खपत हुने गरे पनि यसपालि आयात कम हुने देखिएको उहाँको भनाइ छ । एक वर्षको अवधिमा बजारमा प्रतिकेजी जिउँदो खसीबोकाको मूल्य दुई सय रुपियाँले बढेको उनको भनाइ छ ।
नेपाल व्यावसायिक बाख्रापालक महासङ्घका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले पनि बाढीपहिरोका कारण ठाउँ ठाउँमा बाटो अवरुद्ध भएकाले गाउँ गाउँबाट खसीबोका ल्याउन कठिन हुने बताए। सङ्घका अनुसार गत वर्ष जिउँदो खसी प्रतिकेजी छ सयदेखि ६५० रुपियाँ रहेकोमा यस वर्ष बढेर आठ सयदेखि ८५० पुगेको छ । मूल्य बढ्दा खपतसमेत घट्ने गोरखापत्रमा समाचार छ ।



