तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित शुक्ला हिलेटार शिवालय क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक पहल थालिएको छ । धार्मिक आस्थासँग जोडिएको यस क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमार्फत आन्तरिक पर्यटक तथा भक्तजनलाई आकर्षित गर्ने योजना अघि सारिएको हो ।
शिवालय क्षेत्रमा निर्माणाधीन दुग्देश्वर महादेव मन्दिरको निर्माण कार्य पुनः सुरु भएको छ। मन्दिरको जग, पिल्लरलगायतका आधारभूत संरचना निर्माण भए पनि अरु काम बाँकी थियो । शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भण्डारीले धार्मिक महत्व बोकेको यस क्षेत्रलाई व्यवस्थित विकास गरी धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले काम अघि बढाइएको बताए । “शिवालय क्षेत्रलाई आवश्यक पूर्वाधारसहित व्यवस्थित धार्मिक पर्यटकीयस्थल बनाउने लक्ष्य राखेका छौँ”, उनले भने।
दुग्देश्वर महादेवको मन्दिरलाई शिखर र प्यागोडा शैलीको मिश्रित स्वरूपमा निर्माण गर्ने योजना छ । त्यसका लागि रु एक करोड ३७ लाख लागत अनुमान गरिएको छ । हालसम्म रु ५० लाख सङ्कलन भइसकेको समितिले जनाएको छ । सङ्कलित रकमबाट मन्दिरको जग, पिल्लरलगायतका प्रारम्भिक संरचना निर्माण गरिएको हो ।
बाँकी कामका लागि ठूलो रकम आवश्यकपर्ने भएकाले समितिले सरकारी बजेटको मात्र भर नपरी स्थानीयवासी, भक्तजन, शुभेच्छुक तथा देशविदेशमा रहेका सहयोगदाताबाट रकम सङ्कलन अभियान सुरु गरेको छ।
समितिले टोलटोलमा पुगेर सहयोग सङ्कलन गरिरहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि स्थानीयवासी तथा भक्तजनबाट उत्साहजनक सहयोग प्राप्त भइरहेको उनको भनाइ छ ।
धार्मिक पर्यटकलाई लक्षित गरी पूजा दर्शन, धार्मिक कार्यक्रम तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना रहेको समितिले जनाएको छ । यसबाट स्थानीयस्तरमा व्यापार, होटल तथा अन्य सेवा व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
शिवालय क्षेत्रको समग्र विकासका लागि आवश्यक पूर्वाधार पहिचान गरी दीर्घकालीन योजना बनाउन विस्तृत परियोजना प्रतिवेदनको तयारी थालिएको छ । उक्त प्रतिवेदनमा पहुँचमार्ग, खानेपानी, शौचालय, पार्किङ, विश्रामस्थल, पदमार्ग, क्षेत्रको सौन्दर्यीकरण तथा भक्तजन र पर्यटकका लागि आवश्यक सेवा–सुविधालाई समेटिनेछ ।
यस्तै, शिवालय क्षेत्रसम्म पुग्ने सडक तथा पहुँचमार्गको स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने समितिको धारणा छ । यस क्षेत्रको प्राकृतिक तथा धार्मिक वातावरण संरक्षण गर्दै आवश्यक संरचना निर्माण गर्ने समितिको योजना छ । समितिले दुग्देश्वर महादेव मन्दिरलाई केन्द्रमा राखेर शुक्ला हिलेटार शिवालय क्षेत्रको समग्र विकास गर्ने लक्ष्य राखेको छ ।



