‘देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसको हो’

हिमाल प्रेस १९ असोज २०८३ १५:१० | Monday, October 5, 2026
‘देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसको हो’ काठमाडौँको खुलामञ्चमा सोमबार जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति गगनकुमार थापा। तस्बिर : रासस

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसको भएको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै सभापति थापाले कांग्रेस केवल चुनावी दलमात्र नभएर देशको राष्ट्रिय राजनीतिक शक्ति भएकाले समाजमा व्याप्त निराशा, अविश्वास, घृणा र असन्तोषलाई चिर्दै देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसकै भएको बताए।

उनले कांग्रेसले संसदमा प्रतिपक्षको रूपमा नागरिकका मुद्दाहरू प्रखर रूपमा उठाउने र ती मुद्दाहरूलाई तार्किक निष्कर्षमा पुर्‍याएर सरकारलाई सम्बोधन गर्न बाध्य पार्ने उल्लेख गरे। आफ्नो राजनीतिक प्रतिवेदन आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक मार्गदर्शन बन्ने उनले बताए।

फागुन २१ को निर्वाचनमा पार्टीले अप्रत्याशित परिणाम भोगेको र संसदमा उपस्थिति खुम्चिएको भन्दै सभापति थापाले यसलाई केवल चुनावी प्रचार वा आन्तरिक बेमेलको रूपमा मात्र हेरियो भने थप दुर्घटना हुने धारणा राखे।

उनले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, कार्यक्रम र उमेदवारसहित जनविश्वास जितेर प्रतिस्पर्धा गर्ने र मतको अंकगणितका लागि आफ्नो मौलिक पहिचानलाई कमजोर नबनाउने प्रतिवेदनमा उल्लेख गरेका छन्।

आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति समेत कांग्रेसले अघि सारेको छ। उनले नीति र विचार निर्माण, उम्मेदवार छनोट तथा नेतृत्व चयनमा सदस्यको प्रत्यक्ष सहभागिता विस्तार गर्ने दिशामा अग्रसर हुने उल्लेख गरे।

पहाड, हिमाल र मधेश तराई गरी तीन क्लस्टरमा विभाजन गरी कांग्रेसले बन्द सत्र व्यवस्थापन गरेको छ।

हिमाल हलमा कोशी प्रदेशका एक हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी दुई हजार ३३१ प्रतिनिधि सहभागी छन्।

त्यस्तै, पहाड हलमा बागमती प्रदेशका एक हजार २१७ र लुम्बिनी प्रदेशका एक हजार नौ गरी दुई हजार २२६ प्रतिनिधि सहभागी छन्।

तराई–मधेश हलमा मधेश प्रदेशका एक हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन्।

प्रकाशित: १९ असोज २०८३ १५:१० | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast