फाइल तस्बिर
काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गरेका छन्।
दशौँ खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले दशौँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भएको उल्लेख गरे।
‘दशौँ राष्ट्रिय खेलकुद हुने हो कि होइन भन्नेर कसैले पनि दुविधा नमान्नुहोला’ उनले भने, ‘दशौँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, त्यसैले प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो।’
मन्त्री पोखरेलले अघिल्ला राष्ट्रिय खेलकुदभन्दा प्रभावकारी ढंगले यसपटकको प्रतियोगिता हुने विश्वास व्यक्त गरे। उनले खेलकुद प्रतियोगितालाई राम्रोसँग सञ्चालन गर्नका लागि तीन तहका सरकार,सम्पूर्ण सरोकारवाला, सबैजना मिलेर गर्नुपर्ने अवस्था आएको उल्लेख गरे।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबाहादुर शाहीले आइतबारको बैठकले १० औँ राष्ट्रिय खेलकुद हुन्छ भन्ने प्रत्याभूत भएको बताए।
खेलकुद आयोजनापछि कर्णाली प्रदेश सक्षम छ भन्ने संदेश जाने उनको भनाइ थियो।
खेल संघका प्रतिनिधिले दशौँ राष्ट्रिय खेलकुद समयमै सुरु हुनेमा सन्देह व्यक्त गरेपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले त्यसमा शंका नगर्न अनुरोध गरेका छन्।
‘यहाँ समयमा खेल हुन्छ हुन्न या फेरि सर्छ कि भन्ने गुनासो सुनिन्छ। तर, हामीले यसलाई एउटा फ्रेस स्टार्ट ठानेका छौँ। त्यसैले ढुक्क हुन अनुरोध गर्दछु,’ उनले भने।



