फाइल तस्बिर
काठमाडौँ- जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो महाधिवेशनबाट राउत अध्यक्षमा निर्वाचित भएका हुन्।
पार्टीको अध्यक्ष पदका लागि राउतको एकल उम्मेदवारी परेको थियो। तर, कुल खसेको सदर मतको कम्तीमा २० प्रतिशत ल्याउनुपर्ने विधानको व्यवस्थाबमोजिम मतदान प्रक्रिया अपनाइएको थियो।
उनले ९५८ मत प्राप्त गरेका थिए। महाधिवेशमा २६ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गन मतदान भएको थियो।
उपाध्यक्षमा अनितकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा.जयकान्त राउत, राजकुमार यादव र माधवप्रसाद सिंह निर्वाचित भएका छन्।
सात जना उपाध्यक्षका लागि ११ जनाले प्रतिस्पर्धा गरेका थिए।
त्यस्तै महासचिवमा सिरहाका सञ्जयकुमार यादव निर्वाचित भएका छन्। उनले ६१८ मत प्राप्त गरे। महासचिवमा उम्मेदवारी दिएका ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत प्राप्त गरे।
उपमहासचिवमा सिरहाकै निर्मलकुमार मण्डल ५०१ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ललितचन्द्र मल्लिकले ४१४ मत प्राप्त गरे।
सात जना सचिवका लागि ९ जनको उम्मेदवारी परेको थियो। जसमध्ये सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोषराज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्।



