काठमाडौँ- नेपाली कांग्रेसमा पदाधिकारीको संख्या २२ हुने भएको छ। नेपाली कांग्रेसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री ११ र कोषाध्यक्ष एक सहित १७ जना पदाधिकारी छन्। अब वरिष्ठ उपसभापति एक, उपसभापति दुई र सहमहामन्त्री दुई जना गरी पाँच पदाधिकारी थप गर्न लागिएको हो।
यीमध्ये तीन सहमहामन्त्री र कोषाध्यक्ष मनोनीत हुने व्यवस्था पार्टी विधानमा गरिएको छ।
वरिष्ठ उपसभापति, दुई उपसभापति र तीनजना सहमहामन्त्री थप गर्ने समझदारी भएको सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए। सभापति, वरिष्ठ उपसभापति र चार उपसभापति निर्वाचित हुनुपर्छ। चार उपसभापतिमा दुई महिला दुई पुरुष निर्वाचित हुने व्यवस्था गरिएको छ।
महामन्त्री दुवै जना निर्वाचित हुनेछन् भने ११ सहमहामन्त्रीमा आठजना निर्वाचित हुनेछन्। सहमहामन्त्रीमा महिला, मधेशी, जनजाति, मुस्लिम, खस आर्य, थारू, दलित र पिछडिएको क्षेत्र क्लस्टरबाट एकएक जना निर्वाचित हुने व्यवस्था गरिएको छ।
हाल कांग्रेसमा वरिष्ठ उपसभापति रहने व्यवस्था छैन भने दुई उपसभापति र ११ सहमहामन्त्री रहने व्यवस्था छ। कांग्रेसले आकांक्षीको संख्या देखाउँदै पदाधिकारी बढाउन लागेको नेताहरूले बताएका छन्। इतर समूह पक्षबाट गगन थापा समूहमा विलय भएका नेताहरूलाई व्यवस्थापन गर्न पनि पदाधिकारी संख्या थप गरिएको उनीहरूको भनाइ छ।
कांग्रेसको १५औँ महाधिवेशनमा १९ पदाधिकारीका लागि निर्वाचन हुने रसाइलीले बताए। कांग्रेसको १५औँ महाधिवेशन आइतबार राजधानीको खुलामञ्चमा उद्घाटन हुँदै छ।
कांग्रेसको इतिहासमा समानान्तर रूपमा दुईवटा महाधिवेशन हुन लागेको छ। इतर समूह अर्थात् पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिर २१ गतेदेखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्न लागेको छ। यसका लागि इतर समूह नेता शशांक कोइरालाको संयोजकत्वमा समिति गठन गरेर सक्रिय भएको छ। इतर समूहले असोज १५ गते वडा अधिवेशन सम्पन्न गरेको छ।



