महाधिवेशनमा प्रतिस्पर्धा गर्ने उम्मेदवार प्रदेश र जिल्लामा चुनाव लड्न नपाउने

हिमाल प्रेस १७ असोज २०८३ १८:४९ | Saturday, October 3, 2026
महाधिवेशनमा प्रतिस्पर्धा गर्ने उम्मेदवार प्रदेश र जिल्लामा चुनाव लड्न नपाउने

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्ने उम्मेदवार पार्टीको प्रदेश तथा जिल्ला अधिवेशनमा भाग लिन नपाउने भएका छन्।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले केन्द्रीय महाधिवेशनमा प्रतिस्पर्धा गर्ने उम्मेदवार प्रदेश र जिल्ला अधिवेशनमा चुनाव लड्न नपाउने स्मरण बताएका हुन्।

आइतबारदेखि सुरू हुन लागेको कांग्रेसको १५ औँ महाधिवेशनमा विभिन्न पदका लागि दाबी गर्नेहरूको संख्या बढी देखिन थालेपछि सदस्य सचिव कटुवालले विधानको व्यवस्था समरण गराएका हुन्।

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) मा पार्टीको कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको छ,’ उनले भनेका छन्।

१५ औँ महाधिवेशनअन्तर्गत पार्टीको नयाँ नेतृत्व चयन गर्ने तयारीमा रहेको कांग्रेसले भने जिल्ला र प्रदेश अधिवेशन गर्न बाँकी छ। वडाका साथै प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरे पनि कांग्रेसले तल्लो तहका दुई प्रमुख जिल्ला र प्रदेश अधिवेशन गरेको छैन।

जिल्ला तथा प्रदेश अधिवेशन गर्दा आन्तरिक कलह बढ्ने र त्यसको प्रभाव केन्द्रीय महाधिवेशनमा पर्न सक्ने आकलन गरिएको नेताहरूको भनाइ छ। त्यसैले प्रदेश र जिल्ला अधिवेशनमा प्रतिस्पर्धा गर्ने अवसर बाँकी राख्न केन्द्रीय महाधिवेशनमा भाग नलिन अप्रत्यक्ष रूपमा कांग्रेसले आकांक्षीहरूलाई सचेत गराएको देखिन्छ।

‘अतः आसन्न १५ औँ महाधिवेशनमा कुनै पदमा उम्मेदवार भएको व्यक्ति यस पश्चात हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने व्यहोरा पुनः स्मरण गराइएको छ,’ कटुवालले विज्ञप्ति निकालेर भनेका छन्।

त्यस्तै उनले पदेन महाधिवेशन प्रतिनिधि र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाबाट आउक पदेन प्रतिनिधि पनि महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न नपाउने कांग्रेसको विधानमा उल्लेख रहेको प्रस्ट पारेका छन्।

प्रकाशित: १७ असोज २०८३ १८:४९ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast