नेपाली सेनाको बर्दी फुकालेर अमेरिकामा ‘डेलिभरी’ को झोला

सेनाका जमदारदेखि गाउँमा पढाउने शिक्षकसम्मको अमेरिका यात्राको कथा

चन्द्रशेखर अधिकारी १७ असोज २०८३ १५:३२ | Saturday, October 3, 2026
नेपाली सेनाको बर्दी फुकालेर अमेरिकामा ‘डेलिभरी’ को झोला

न्युयोर्क- नेपाली सेनामा हुँदा लुम्बिनीकुमार (नाम परिवर्तन ) लाई सधैँ एउटा आदेश गुन्जिरहन्थ्यो- ‘तयार रहनू।’ त्यही निर्देशन पालना गर्दै उनले  देशको सेवामा वर्षौँ बिताए। कारण दुई पटक शान्ति सेनामा जाने अवसर पाए। २२ वर्षपछि अवकाश लिए। अनि बाँकी जीवन गाउँमै बिताउने योजनाअनुरूप लुम्बनीकुमार आफ्नै जन्मथलो लुम्बिनी प्रदेशको पहाडी जिल्लामा फर्किए। आफ्नै माटो, खेतबारी र सानो व्यवसायमा रमाएर जीवन सुखी बनाउने इच्छा उनको थियो। पेन्सन आइहाल्थ्यो। आर्थिक अवस्था जीवन चलाउनै नसक्ने पनि त थिएन।

उमेर चालीस वर्ष हाराहारीमा रहेका उनलाई गाउँलेले अहिलेदेखि कहाँ गाउँमा बस्ने भनेर सल्लाह दिन्थे। उनीहरूको सुझाव थियो- गाउँ मात्रै होइन तिमीले देश छाड्नुपर्छ। विदेशमा अझै राम्रो अवसर छ तिम्रा लागि। खेतीपाती वा सानो व्यवसायमा अल्झिएर बस्ने उमेर भएको छैन।

सित्तैँमा पाएको यस्तो सुझावले उनलाई अब कतै जाने चाहना बढ्न थाल्यो। लुम्बिनी प्रदेशका पहाडी जिल्लाका धेरै युवा अमेरिका गइरहेका थिए। उनलाई पनि धेरैले यही बाटो रोज्न भने अर्थात् तल्लो बाटोबाट अमेरिका जाने। त्यो भनेको गैरकानुनी बाटोबाट अमेरिका प्रवेश गर्ने अनि उतै काम गर्ने।

गाउँमा अमेरिका जानेको लहर चलेकै थियो। कसैको छोरा पुगिसकेका थिए, कसैको भाइ बाटोमा थिए। कसैले घरजग्गा धितो राखेका थिए, कसैले ऋण उठाउँदै गरेका थिए। अमेरिका जानु व्यक्तिको चाहना मात्र रहेन, गाउँको सामूहिक सपना बन्दै थियो। उनीभन्दा कम उमेरका मानिस अमेरिका जाने क्रम बढ्दै थियो। समाजले नै त्यता जान प्रेरित गरेपछि  लुम्बिनीकुमारको केही चलेन।

उनले पनि त्यही बाटो रोजे। लुम्बिनीकुमार यति बेला न्युयोर्कमा छन्। सेनामा सिकेको ‘सधैँ तयार’ रहने बानी छुटेको छैन। फरक यत्ति हो, त्यतिबेला देशको सेवाका लागि तयार रहनुपर्थ्यो, अहिले साहुको ऋण तिर्न। त्यतिबेला आदेश आउँथ्यो, अहिले कामको समय। त्यतिबेला बर्दी थियो, अहिले डेलिभरीको झोला।

लुम्बिनीकुमारले सुनाए, ‘सेनामा सधैँ तयार होऊ भनेर काम गरियो, अहिले यहाँ सधैँ हतारमा साहुको ऋण तिर्न काम गरिरहेको छु।’ उनलाई परिवारबाट टाढा हुँदा कहिलेकाहीँ पिरलो त हुन्छ तर सामाजिक सञ्जालले सहज बनाएको छ। कामबाट आएपछि र जानुअघि परिवारका सदस्यसँग कुराकानी गर्छन्। ऋण तिरेर छोराछोरीको सुन्दर भविष्य बनाउने सपना उनको रहेछ।

काम त छँदै छ, ऋण पनि तिर्नु छ। त्यो भन्दा बढी उनी अमेरिकामा कानुनी लडाइँ लडिरहेका छन्। नेपाली सेनाका पूर्वजमदार लुम्बिनीकुमारको हरेक वाक्यमा थकान थियो। यद्यपि उत्साह भने मरेको देखिएन। लुम्बिनीकुमारको भनाइमा अमेरिका पुग्न झन्डै एक करोड रुपैयाँ खर्च भयो। आफ्नै कमाइको करिब ४० लाख रुपैयाँ थियो, बाँकी ऋण।

अमेरिका जाने प्रयोजनका लागि उठाएको पैसाबाट घर बनाउन पनि करिब २५ लाख रुपैयाँ खर्च भयो। बाँकी रकम यात्रामा सकियो। अहिले करिब ८५ लाख रुपैयाँ ऋण छ। त्यसको ब्याज १५ देखि २२ प्रतिशतसम्म रहेको उनी बताउँछन्। गाउँमा नै केही गर्छु भन्नेलाई रकम मिल्दैन तर अमेरिका जाने भएपछि घर बनाउन सम्म पुग्ने रकम समेत ऋण पाएको उनले सुनाए। उनलाई अमेरिका पुग्न तीन महिनामा लागेको रहेछ।

उनले भने, ‘कमाइ राम्रै छ। दुई वर्षभित्र केही रकम घर पठाएर ऋण तिरिसक्नेछु।’ मासिक पाँच लाख रुपैयाँसम्म नेपाल पठाउने गरेको उनको भनाइ छ। लुम्बिनीकुमार पुगेको एक वर्ष भयो। अब ऋणचुक्ता गरी  एक करोडभन्दा बढी रकम लिएर फर्कने उनको योजना छ। उनले भने, ‘यता कागज बनेमा फर्कनै परेन। परिवार नै ल्याउनेछु।’ अमेरिका आइसकेपछि वैध भएर बस्न पाइन्छ कि भनेर कानुनी लडाइँ लडिरहेको उनले बताए।

भिन्न पृष्ठभूमि, एउटै दिनचर्या

न्युयोर्कमा भेटिएका तीन नेपालीको कथा भिन्न ठाउँबाट सुरु भएको हो। एकजना लुम्बनी प्रदेशका पूर्वसैनिक, अर्को लुम्बनी प्रदेशकै पूर्वप्रहरी अनि अर्का चितवनका स्नातक युवा। उनीहरूको जीवनमा पेसागत अनुभव, सामाजिक पृष्ठभूमि र अमेरिका आउने कारण फरक छन्। तर अहिले उनीहरूको दिनचर्या लगभग उस्तै छ।

तीनैजना समूहमा बस्दा रहेछन्। तीनैजना बिहानै काममा निस्कन्छन्। एकजनाले खाद्यान्नसम्बन्धी सामान घरघरमा पुर्‍याउँछन्। अर्काले विभिन्न किसिमका सामान डेलिभरी गर्छन्। बिहानको काम सकेपछि दिउँसो स्टोरमा काम गर्न पुग्छन्। साँझ परेपछि फेरि बंगाली वा भारतीयले सञ्चालन गरेका रेस्टुरेन्टको भान्सामा सक्रिय हुँदा रहेछन्।

एउटै दिनमा तीनवटा काम! एउटा काम सकिँदा अर्को सुरु हुन्छ। बिहानको डेलिभरी, दिउँसोको स्टोर र बेलुकाको रेस्टुरेन्ट। शरीर थाक्छ, तर काम रोकिन्न। घरमा कुरा गर्न पनि भ्याउँछन्। आफूले खाना खाने त उठीउठी नै हो, उनीहरू भन्छन्। एक दिन पकाउने र तीन दिन खाने। बेलुका भने रेस्टुरेन्टमा खान पाइने हुँदा बिहानको मात्र जोहो गर्नुपर्छ।

उनीहरूको लक्ष्य दिनको सरदर तीन सय डलर कमाउने हो। हप्तामा दुई हजार डलर जम्मा गर्ने प्रयास सधैँ रहन्छ। तर कमाइ र बचत एउटै कुरा होइन। घरभाडा, खाना, यातायात, अन्य खर्च र ऋणको किस्ताले कमाइको ठूलो हिस्सा खाइदिन्छ। तर पनि ऋण तिरेर बच्चालाई पढाएर, यता कानुनी लडाइँ लडेर पनि तीन-चार वर्षमा एक-डेढ करोड रुपैयाँ जम्मा गरेर नेपाल फर्कने सोचमा छन्।

एकजनाले सुनाए, ‘साइकल लिएर सामान पुर्‍याउनेदेखि स्टोरमा काम गर्ने र बेलुका रेस्टुरेन्टमा पुग्ने हो। जसरी पनि दिनको तीन सय डलर कमाउनुपर्छ।’ उनीहरूको कामको प्रकृति हेर्दा अमेरिका पुगेपछि पनि जीवनमा विश्रामभन्दा दौड बढी छ। बिहान घरबाट निस्केपछि राति अबेरसम्म काम। बीचमा खाना खान घर फर्कने समयसमेत उनीहरूका लागि एउटा अवसर हो। त्यो पनि लामो विश्राम होइन, अर्को कामका लागि शरीरलाई केहीबेर सम्हाल्ने समय मात्र।

अमेरिकामा उनीहरूलाई भेट्दा लाग्छ, मान्छे कम र मेसिन बढी हुन्। तर मेसिन र मानिसबीच एउटा ठूलो अन्तर छ। मेसिन बिग्रिए मर्मत गर्न सकिन्छ, मानिस बिरामी भए उपचार आफैँ गर्नुपर्छ। काम गर्न नसक्ने दिन आयो भने कमाइ रोकिन्छ। त्यसमाथि कागजपत्रको अनिश्चितता र अध्यागमनसम्बन्धी डर छुट्टै छ।

पूर्वप्रहरी बिजौरी उपाध्याय (नाम परिवर्तन)  को कथा पनि यही श्रमचक्रसँग जोडिएको छ। नेपालमा सुरक्षा सेवामा बिताएको जीवनपछि उनी अहिले अमेरिकामा दैनिक कामको तालिकामा बाँधिएका छन्। लुम्बिनीकुमारको जस्तै उनको पनि प्राथमिकता ऋण र भविष्यको आर्थिक सुरक्षा हो। उनले जागिर छोड्दा सबै रकम उपदानका रूपमा लिएका रे। पेन्सन आउँदैन रे। त्यही रकम खर्चेर केही ऋण लिएर यता आएको सुनाए।

चितवनका युवा खैरहनी क्षेत्री (नाम परिर्वतन) को अमेरिका यात्रा अलि भिन्न थियो। उनी स्नातक सकेर गाउँकै विद्यालयमा पढाउँथे।  जग्गासम्बन्धी कारोबारका क्रममा एक दलालसँग चिनजान भयो। दलालले अमेरिकाको बाटो देखाए। त्यहाँ राम्रो कमाइ हुने, भविष्य बन्ने र अन्ततः अमेरिकी नागरिकतासमेत पाउन सकिने सपना देखाइयो। त्यसपछि उनी अमेरिका जाने निर्णयमा पुगे।

खैरहनीको कथा अर्को सामाजिक यथार्थसँग जोडिन्छ। त्यो हो नेपालमा पढेर गाउँकै विद्यालयमा पढाइरहेको स्नातक युवालाई गाउँमा काम गरेर जीवन बिताउनु उचित लाग्दैन। भविष्यको ठूलो सम्भावना खोज्दै अमेरिका जान चाहन्छ। उसलाई आफ्नो विदेशमा कमाइ र नागरिकताको सपना बढी आकर्षक देखिन्छ। खैरहनी स्नातकोत्तर अध्ययन गर्दै थिए। जग्गाको काम गरेर अलिअलि रकम पनि बनेकै थियो।

‘समाजमा केही गर्न नसकेर शिक्षक भएको भन्ने शब्द चिया पसलमा सुनेको अझै गुन्जिन्छ। अनि कठिन यात्राबाटै भए पनि अमेरिका लागेको हुँ,’ उनी भन्छन्। तीनैजनाको गन्तव्य एउटै भए पनि उनीहरूको अमेरिका आउने कारण एउटै थिएन। एकजनाले अवकाशपछि नयाँ जीवन खोजे, अर्कालले सुरक्षा सेवाबाट नयाँ आर्थिक सम्भावना खोजे अनि अर्काले शिक्षण पेसाबाट बाहिरिएर ठूलो कमाइ र नागरिकताको सपना देखे। तर अमेरिकामा उनीहरूको दिनचर्या भने एउटै ठाउँमा आएर जोडिएको छ- डेलिभरी, स्टोर र रेस्टुरेन्टको भान्सा।

‘माथिबाट कि तलबाट’

न्युयोर्कको ज्याक्सन हाइट नेपालीहरूको भेटघाट र कुराकानी हुने परिचित थलो हो। त्यहाँ नेपालीहरू आफ्ना साथी भेट्छन्, गाउँघरका खबर साट्छन् र अमेरिकामा बितिरहेको जीवनबारे कुरा गर्छन्। कैयौँले घण्टा गनीगनी कमाएको रकम सक्ने थलो पनि हो त्यो। जुवा, मसाजदेखि ह्याप्पी इन्डीसम्ममा लाग्दा रहेछन् नेपालीहरू।

अनि त्यहाँ नयाँ नेपाली भेट्दा सोधिने प्रश्नमध्ये एउटा रहेछ- ‘दाइ, तपाईं माथिबाट आउनुभएको कि तलबाट?’ पहिलो पटक सुन्ने मानिस त अक्क न बक्क हुने रहेछन्। माथिबाट भन्नाले सामान्यतः हवाईमार्ग हुँदै वैधानिक प्रवेश गर्ने र तलबाट भन्नाले विभिन्न देश हुँदै जोखिमपूर्ण अनियमित बाटोबाट अमेरिका पुग्ने यात्रा बुझिन्छ।

त्यसलाई क्युबियन रुट, डंकी रुट वा कालो रुटजस्ता नामले चिनिने यात्राका बाटा भिन्न  हुन सक्छन्। तर गन्तव्य एउटै हुन्छ-अमेरिका। कतै हवाईजहाज चढ्छन्, कतै पानीजहाज। कतै गाडी, कतै जंगलमा पैदल। देश फेरिन्छन्, भाषा फेरिन्छ, सहयोगी फेरिन्छन्। कतिपयको यात्रा दुई महिनामै टुंगिन्छ, कसैको वर्षौँ लम्बिन्छ। यात्राको अवधि र खर्च व्यक्तिको बाटोअनुसार भिन्न हुन्छ।

ज्याक्सन हाइटमा भेटिएका नेपालीका अनुभवमा यस्तो यात्राका लागि ४५ लाखदेखि एक करोड ३० लाख रुपैयाँसम्म खर्च भएको बताउनेहरू पनि छन्। यी व्यक्तिगत अनुभवका रकम हुन्, सबैको औसत होइनन्। तर अमेरिका पुग्नका लागि नेपाली परिवारले उठाउने आर्थिक जोखिम कति ठूलो छ भन्ने यसले देखाउँछ।

पूर्वजमदार लुम्बिनीकुमारको हकमा झन्डै एक करोड रुपैयाँ खर्च भयो। आफ्नै कमाइभन्दा ऋण धेरै भयो। घर बनाउन पनि त्यही पैसाको केही अंश खर्च भयो। अहिले अमेरिकामा कमाएको ठूलो रकम नेपालमा ऋण तिर्न पठाइरहेका छन्।उनले भनेको अर्को कुरा झन् सोचनीय छ- नेपालमा केही गर्न खोज्दा ऋण पाउन गाह्रो हुन्छ, तर अमेरिका जान लागेको भन्दा घरमै पैसा पुर्‍याउन मानिस तयार हुन्छन्। यसैबाट पनि स्पष्ट हुन्छ-हाम्रो समाजले के खोजिरहेको छ? कस्तो समाजमा हामी छौँ? किन विदेश जान नै बढी जोड गर्छौँ?

आफ्नै माटोमा केही गर्छु भन्दा बैङ्कको त परको कुरा, साहुबाट समेत ऋण पाइँदैन। अनि विदेश जाने भनेपछि घरसमेत बनाउन पुग्ने पैसा उठ्छ! ‘अमेरिका जान भनेर लिएको पैसाले घरसमेत बनाएँ। अनि अमेरिका पनि आइपुगेँ’, उनले सुनाए, ‘नेपाली समाजको वास्तविकता यही देखिन्छ। देशमै व्यवसाय गर्न खोज्दा जोखिम देख्ने समाज विदेश जाने यात्रामा भने ठूलो लगानी गर्न तयार हुन्छ। त्यो मानिस अमेरिका पुग्छ कि पुग्दैन, पुगेमा काम गर्न सक्छ कि सक्दैनसमेत थाहा हुँदैन, तर त्यहाँ विश्वास देख्छ।’

उनको अनुभवमा विदेश जाने निर्णयलाई परिवारले भविष्यको सुरक्षित लगानी ठान्छ। तर त्यो लगानीको ब्याज कति चर्को छ, यात्रा कति जोखिमपूर्ण छ र अमेरिका पुगेपछि जीवन कस्तो हुन्छ भन्ने प्रश्न पनि उठ्छ। तर त्यसबाट हामीले हाम्रो समाज चित्रण गर्न सक्छौँ। अनि हामी यहाँ नेपाली विदेशीएकाे बहस गरिरहेका हुन्छौँ। जान पनि यही समाजले बल गर्ने अनि विदेशिए नेपाली भनेर पनि यही समाजले प्रश्न गर्ने कस्तो विरोधाभाष।

कागजपत्र र राजनीतिक पहुँचको अर्को सञ्जाल

अमेरिका जानका लागि मानव तस्करी गर्ने एउटा सञ्जाल हुन्छ भने अमेरिका पुगेपछि संघर्ष र कागजी तस्करीको अर्को अध्याय सुरु हुन्छ। यसलाई उनीहरू कागजी र कानुनी यात्रा भन्दारहेछन्। लुम्बिनीकुमारका अनुसार कतिपय नेपालीले नेपालबाट राजनीतिक दलको कार्यकर्ता भएको कागजपत्र बनाएर ल्याउने गरेका छन्। वडा तहदेखि माथिसम्मका सिफारिस र प्रमाण जुटाउने चलन रहेको उनले सुनाए।

उनका भनाइमा, नेपाली कांग्रेस र राप्रपाका नाममा यस्ता कागज बनाउने गरिएको छ। एमाले वा माओवादीका कागजभन्दा यी दलका कागज बढी प्रयोग हुने गरेको उनको दाबी छ। किनकी कम्युनिष्टलाई भन्दा डेमोक्रेट वा दक्षिणपञ्थीलाई बढी विश्वास गर्ने हुनाले कम्युनिष्टहरु पनि कांग्रेस बनेर कागज बनाएको पाउन सकिन्छ।

कागजपत्र बनाउन दुई लाख रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए। तर यस्तो कागज बनाउने प्रक्रिया, रकम र त्यसको अमेरिकी अध्यागमन प्रक्रियामा हुने प्रयोगबारे स्वतन्त्र पुष्टि गर्न पर्ने हुनाले त्यसमा समय लागि रहेको हुन्छ। राजनीतिक दलले संस्थागत रूपमा यस्तो काम गरिरहेको हो तर ती सबै कागज दलले सक्कली बनाएको नहुन पनि सक्छ।

कतिपय त यसैउस्तै लेटरप्याड बनाएर छाप र हस्ताक्षर नक्कल गरेको पनि हुन सक्छ। यसैले प्रमाणबिना कुनै दललाई दोष नै दिन त मिल्दैन, तर नेताहरूको आचरण नियाल्दा त्यो नगर्लान् भन्न सकिन्न। लुम्बिनीकुमारले सुनाएको अर्को प्रसंग अमेरिकामा हुने राजनीतिक नेताहरूको भ्रमणसँग सम्बन्धित छ। नेपालबाट आउने नेताहरूलाई बोलाउने, बस्ने-खाने व्यवस्था गर्ने, घुमाउने, सपिङ गराउने र फर्किने बेला खर्चसमेत दिने गरिएको उनले बताए।

उनका अनुसार अमेरिकाका विभिन्न राज्यमा नेपालीहरूको संगठन र सम्पर्क सञ्जाल छन्। कतिपयले राजनीतिक दलका नाममा सम्पर्क राख्ने र कागजपत्र बनाउन सहयोग गर्ने गरेका छन्। ‘हामीसँग बस्ने, खाने, सपिङ गराउने मात्रै होइन, जाने बेलामा खर्च पनि जम्मा गरेर दिने गर्छौँ,’ लुम्बिनीकुमारले सुनाए, ‘के गर्ने, नत्र काम हुँदैन।’ उनको भनाइमा कतिपय मानिस यस्तो सहयोग गर्न चाहँदैनन्। तर आफूजस्ता तल्लो बाटोबाट आएका मानिसले समस्या पर्ला कि भन्ने डरले सहयोग गर्ने गरेका छन्।

यो प्रसंगले गम्भीर प्रश्न उठाउँछ- विदेशमा रहेका नेपाली राजनीतिक संगठनको भूमिका के हो? प्रवासी नेपालीको अधिकार र सामाजिक सम्बन्ध विस्तार गर्ने कि व्यक्तिगत अध्यागमन समस्यासँग जोडिएका स्वार्थको सञ्जाल बनाउने? राम्रासँग सञ्चालन भएका संगठन निकै कम रहेको र अधिकांश संगठन यस्तै कामका लागि खोलिएका हुन्छन्- राजनीतिक आस्थामा आधारित। ती संगठन दर्तासमेत भएका हुँदैनन्। यसै चलाइरहेका हुन्छन्, एक ‘लुज फोरम’का रूपमा।

कुनै व्यक्तिको राजनीतिक आस्थासम्बन्धी कागजपत्रले अमेरिकामा शरण वा अन्य अध्यागमन प्रक्रिया प्रभावित पार्न खोजिएको हो भने त्यसको वैधता र प्रमाणिकता महत्त्वपूर्ण हुन्छ। कागज बनाउने नाममा रकम असुल्ने वा राजनीतिक पहुँचको आश्वासन दिने प्रवृत्तिप्रति सूक्ष्म अनुसन्धान आवश्यक देखिन्छ।

त्यहाँ प्रस्तुत भएका कागजपत्र परीक्षण गर्ने, नेपालमा कागज बनाउने निकायसँग सम्पर्क गर्न खोज्ने आदि गरेमा फर्जी काम रोक्न सकिन्छ। सिफारिस दिने व्यक्ति, आर्थिक लेनदेन र अमेरिकामा त्यसको प्रयोग कहाँ-कसरी भएको छ भन्ने विषयमा अनुसन्धान भएमा सहज रूपमा पुष्टि हुनेछ।

सबैको अमेरिका एउटै छैन

अमेरिकामा तल्लो बाटो हुँदै पुगेका सबैको जीवन उस्तै छैन। ज्याक्सन हाइटमा भेटिएका नेपालीहरूले सुनाएको अर्को महिलाको कथा फरक छ। एक भर्खर स्नातकोत्तर गर्ने उमेरकी शान्तिसुरक्षा नेपाली (नाम परिवर्तन) पनि अनियमित बाटो हुँदै अमेरिका पुगेकी रहिछन्। तर त्यहाँ पुगेपछि अमेरिकी नागरिकता भएका एक प्राध्यापकसँग विवाह गरेर तुलनात्मक रूपमा सुविधासम्पन्न जीवन बिताइरहेको उनको कुराले बुझाउँछ।

उनले आफू तल्लो बाटोबाट गएको त बताइनन्, तर उनका साथीहरूले उनको बारेमा भनेपछि स्पष्ट भयो। तल्लो रुट (अवैध बाटो) बाट गएका युवाहरूको कागजपत्र बनाउनेदेखि अन्य व्यवस्थापनका कामसम्म ती महिलाले नै गर्दिरहेछिन्। उनीहरूलाई वकिलकहाँ पुर्‍याउने, चाहिने डकुमेन्ट गरिदिने र त्यसबापत पनि उनीहरूसँग पैसा लिने काम गरिरहेकी देखियो। शान्तिसुरक्षाले चाहिँ यति मात्रै भनिन्, ‘मेरो सामान्य काम छ, तर मेरा पति भने प्राध्यापक हुन्।’

अन्य विवरण भने तलबाट गएकाहरूले सुनाएका हुन्। सम्बन्धित महिलाले व्यक्तिगत अवस्था पुष्टि गर्न नचाहेकाले पनि उनको बारेमा त्यति धेरै जानकारी पाउन सकिएन। उनको लवजको आधारमा उनी चाहिँ सुदूरपश्चिमको हुनुपर्छ भन्ने प्रस्ट थाहा हुने रहेछ। यसबाट अमेरिका पुगेका सबै नेपालीको जीवन एउटै ढाँचामा चल्दैन भन्ने देखाउँछ।

अमेरिकामा सबैभन्दा सहज भनेको डीभी परेर गएकाहरूलाई छ। त्यसपछि त्यहीँ बसेर उच्च शिक्षा हासिल गर्दै एच-वान भिसा लिएर त्यहाँ राम्रा काम गरेकाहरूलाई त्यहीँको नागरिकता दिने प्रस्ताव  पनि पाउन सकिन्छ। अनि विद्यार्थीहरू पनि भिसा बढाउँदै पछि अनेकन् बहाना देखाएर त्यहाँको ग्रिनकार्ड लिएका हुन्छन्। उनीहरूको पनि अवस्था खासै सहज छैन। तर ग्रिनकार्ड लिएपछि ढुक्क भएर बसेर उनीहरुले पासपोर्ट आवेदन दिएका हुन्छन्।

कसैले ऋणको भारी बोकेर दिनरात काम गरिरहेका छन्। कसैले वैवाहिक सम्बन्ध र अन्य अवसरबाट फरक जीवन चलाइरहेका छन्। कसैले कानुनी प्रक्रियाको प्रतीक्षा गरिरहेका छन्। कसैले फर्कने योजना बनाएका छन्। एउटै बाटोबाट अमेरिका पुगेका मानिसको गन्तव्य र अनुभव पनि फरक पाउन सकिन्छ। तर ती तीन नेपालीको कथा भने एउटै ठाउँमा फर्किन्छ-काम र ऋण। नयाँ सरकार भएपछि भने अधिकमा आशा जागेको र स्वदेशमा नै केही हुने उनीहरुको साेच पलाएकाे देखिन्छ।

महासभामा सहभागि हुन प्रधानमन्त्री वालेन्द्र शाह न्युयोर्क पुग्दा उनलाई होटलमा हेर्न आउनेहरुले गरेको गफबाट पनि त्यो झल्कन्थ्यो। उनीहरु भन्दै थिए, ‘ यीनले त केही गर्लान जस्तो लागेको छ। केही गरेमा अब भागदौड को जीवन होइन सहज जीवन नेपालमा नै जिउनुपर्छ। आश गर्ने त हो।’ उनको कुरा सकिन नपाउँदै अर्काले भने, ‘ २०६२/०६३को आन्दोलनपछि पनि यसै भनिएको थियो। ति पाका खारिएकाले त गरेनन। यि त ठेट्ना पो लाग्छन्, हेरौँ।’

अमेरिका पुगेपछि पनि नसकिने यात्रा

लुम्बिनीकुमार, बिजौरी र खैरहनीको दिनचर्या हेर्दा उनीहरू अमेरिका पुगेका छन्, तर आफ्नो समयमाथि अधिकार पाएका छैनन्। बिहानको डेलिभरी, दिउँसोको स्टोर र बेलुकाको रेस्टुरेन्ट। दिनको तीन सय डलर कमाउने लक्ष्य। हप्तामा दुई हजार डलर जम्मा गर्ने प्रयास। अनि डलर बलियो र नेपाली रकम कमजोर हुँदा उनीहरु खुसी पनि हुने गर्छन्। किनकी कन्भर्ट गर्दा धेरै रुपैयाँ हुने गरेकाले।

अर्कोतर्फ, कागजपत्रको अनिश्चितता छ। अदालतको तारिख छ। वकिलको खर्च छ। नेपालमा परिवार र ऋणको दबाब छ। कतिबेला पक्राउ परिने हो भन्ने डर त भइहाल्यो। कहिलेकाहीँ अदालतको तारिख एक वर्षपछि आएको खबरले उनीहरू खुसी हुन्छन्। तत्कालका लागि अर्को खर्च टरेको र काम गर्ने समय थपिएको ठान्छन्। तर तारिख पछाडि सर्नु मुद्दाको अन्तिम फैसला होइन। त्यसले कानुनी हैसियत सुनिश्चित पनि गर्दैन।

अमेरिकाको अध्यागमन नीतिमा आएको परिवर्तन र निष्कासनसम्बन्धी बहसले उनीहरूको अनिश्चितता थपिएको छ। तर सबै अनियमित आप्रवासीलाई एउटै प्रक्रियाबाट निष्कासन गरिन्छ भन्ने होइन। प्रत्येक व्यक्तिको मुद्दा र कानुनी अवस्था भिन्न हुन्छ।

नेपालबाट अमेरिका जानेहरूको संख्या, विशेषगरी अनियमित बाटोबाट पुगेकाहरूको यकिन तथ्यांक सार्वजनिक रूपमा उपलब्ध छैन। ज्याक्सन हाइटमा भेटिएका नेपालीहरू भने एक लाखभन्दा बढी नेपाली यस्तो बाटोबाट अमेरिका पुगेको हुन सक्ने अनुमान गर्छन्। कानुनी लडाईको लागि न्युयोर्क र क्यालीफोर्निया सहज हुने हुनाले अधिकले यही दुई स्थान रोज्ने गरेका छन्।

उनीहरूले सुनाएको अर्को पक्ष अझै अनुसन्धानयोग्य छ। यस्तो यात्राको सञ्जालमा नेपालका विभिन्न क्षेत्रका मानिस संलग्न रहेको उनीहरूको बुझाइ छ। प्रहरी प्रशासनबाट अवकाश पाएका, परराष्ट्र क्षेत्रमा काम गरेका र व्यवसायमा संलग्न व्यक्तिसमेत यस्तो सञ्जालसँग जोडिएको उनीहरूको दाबी नै छ। यसरी जानेले उजुरी दिएर पनि यसमा अध्ययन-अनुसन्धान नभएको भन्ने समाचारहरू आइरहँदा भने यसमा सामान्य ‘नेक्सस’ होइन, ठूलै सञ्जाल रहेको बुझ्न कठिन छैन।

अमेरिका जाने बाटोमा मात्रै होइन, कम्बोडियामा अनलाइन ठगीका लागि प्रयोग हुने श्रम, रूस-युक्रेनमा सैन्य भर्तीका नाममा पुर्‍याइएका नेपाली र अफ्रिकी मुलुकमा रोजगारीको प्रलोभनमा पठाइएका मानिसका घटनाले पनि विदेश जाने सपनासँग जोडिएका जोखिम देखाएका छन्। त्यस्तै अहिले युरोप जानेहरूको अवस्था पनि यस्तै छ।

यी सबै घटना एउटै प्रकृतिका होइनन्। तर रोजगारी र भविष्यको आश्वासनमा मानिसलाई जोखिमपूर्ण यात्रामा लैजाने सञ्जालमाथि राज्यले गम्भीर अनुसन्धान गर्नुपर्ने देखिन्छ। तर यसमा राज्य संयन्त्र नै चुपचाप रहनु आफैँमा रहस्यमय देखिन्छ। कागजपत्र बनिसकेका र अध्ययन गरेर आफूलाई खार्नेहरूका लागि अमेरिका साँच्चै अवसरको देश बनेको छ भने सपनाको देश पनि बनेको छ। काम गरेका छन्, नयाँ क्षेत्रमा लगानी गरेका नेपालीहरू पनि अधिक भेटिएका थिए।

त्यही भीडमा मन्त्रीको पछि लाग्ने र तस्बिर खिचाउने समूह सम्झेर भने टीठ लाग्ने। ३० जना बोलाएको कार्यक्रममा डेढ सय जना पुग्ने। आफ्ना कुरा सुनाउने र मन्त्रीको समयप्रति ध्यान नदिने, ‘म यो हुँ, यस्तो हुँ’ भन्न भ्याउने। अनि मलाई नेपालमा यसो गर्नुछ, उसो गर्नुछ भन्ने उपदेश दिने पनि देखिए। ती सबै उपदेश अन्तिममा मन्त्रीसँग सँगै तस्बिर लिनका लागि रहेछन्।

गाउँ फर्कने दिन कहिले?

पूर्वजमदार लुम्बिनीकुमारलाई बिहान-बेलुका गाउँको सम्झना आउँछ। श्रीमती, एक छोरा, एक छोरी अनि ती बूढी आमाको यादले नै उनी कागज नबने पनि दुई वर्षपछि आफ्नै माटोमा फर्कने बताउँछन्। आफ्नै खेतबारीमा काम गर्ने, गाउँमा सानो व्यवसाय गर्ने र पेन्सनको भरमा बाँकी जीवन बिताउने विकल्प उनीसँग थियो। तर अहिले त्यो विकल्प ऋणले छोपेको छ। ‘अब सकिन लाग्यो, केही जम्मा गरौँ अनि जाने हो’, उनले भने।

उनको योजना छ- अरू दुई वर्ष काम गर्ने, ऋण तिर्ने र त्यसपछि नेपाल फर्कने। तर दुई वर्षको हिसाबमा ब्याज, कानुनी प्रक्रिया र जीवनका अनिश्चितता पनि जोडिएका छन्। दाङका पूर्वप्रहरी र चितवनका पूर्वशिक्षकको अवस्था पनि फरक छैन।

उनीहरूको अमेरिका यात्रा फरक उद्देश्यबाट सुरु भयो। कसैले अवकाशपछि नयाँ भविष्य खोजे, कसैले आर्थिक सुरक्षा, कसैले नागरिकताको सपना। तर अहिले उनीहरू सबै बिहान डेलिभरीको झोला बोकेर निस्कन्छन् र राति रेस्टुरेन्टको भान्सामा पुगेर दिन टुंग्याउँछन्।

उनीहरूको कथा अमेरिकाको चमकसँग जोडिएको अर्को यथार्थ हो। अमेरिका पुगेपछि सबै सपना पूरा हुँदैनन्। कतिपयका लागि त्यहाँ पुग्नु नै अर्को संघर्षको सुरुवात हुन्छ। नेपालमा ऋण लिएर अमेरिका पुगेका मानिसले त्यहाँ पनि ऋणकै लागि काम गर्नुपर्छ। उनीहरुलाई घुम्न मन लागे पनि बाध्यताले दिएको छैन्। उनीहरुलाई अमेरिका भनेको नै त्यही न्युयोर्क वा आफू प्रवेश गरेको टेक्सास हो भन्ने लाग्छ। टेक्सास बाट न्युयोर्क कसरी आइपुगेको उनीहरूलाई नै थाहा छैन।

नेपाली सेनाबाट दुईपटक शान्ति सेना गएका पूर्वजमदार लुम्बिनीकुमारको जीवनमा एउटा ठूलो टर्निङ देखिन्छ। उनले जीवनको लामो समय अरूको सुरक्षाका लागि बिताए। अहिले आफ्नो भविष्य सुरक्षित गर्न आफैँ दिनरात दौडिरहेका छन्। घरमा सानो छोरीले बाबा कहिले आउने भनिरहँदा त फर्की हालौँ जस्तो लाग्छ तर केही हुन्छ कि भनेर अडेको छु, उनी कुराकानीमै भाबुक बने।

उनीहरूको जीवनमा सबैभन्दा प्रतीक्षित दिन कुनै पदोन्नति वा पुरस्कारको दिन होइन। त्यो दिन हो, जुन दिन उनले भन्न सक्नेछन्, ‘अब ऋण सकियो, म गाउँ फर्किंदै छु।’ अमेरिका जानु आफैँमा अपराध होइन। विदेशमा काम गर्नु पनि असफलताको संकेत होइन। तर विदेश जाने नाममा करोडौँ ऋण लिनुपर्ने, अनियमित बाटोमा ज्यान जोखिममा राख्नुपर्ने, कागजपत्र मिलाउने नाममा राजनीतिक पहुँच खोज्नुपर्ने र पुगेपछि दिनको १५ घण्टा काम गरेर पनि भविष्यको निश्चितता नपाउने अवस्थालाई कसरी सामान्य मान्ने?

ट्रम्पको दोस्रो कार्यकालपछि…

अमेरिकाको राष्ट्रपतिमा चार वर्षको अन्तरालपछि डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको यात्रा सुरु भएसँगै अमेरिकाको आप्रवासन नीति निकै कडा भएको हो। दक्षिणी सिमाना लगभग बन्दजस्तै बनाइएको छ र अवैध रूपमा प्रवेश गर्ने वा बसोबास गर्नेहरूलाई पक्राउ गरेर डिटेन्सनमा राख्ने तथा निष्कासन गर्ने काम तीव्र पारिएको छ। हुन त पहिला पनि यो कार्य जारी थियो तर नगन्य थिए।

पहिले जस्तो सिमानामा पक्रिएकालाई तुरुन्तै देशभित्र छोड्ने अभ्यास लगभग अन्त्य भएको छ। अमेरिकी गृह मन्त्रालयअन्तर्गतको आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) का छापा, स्थानीय प्रहरीसँगको सहकार्य र स्वैच्छिक रूपमा फर्किनेलाई टिकट तथा केही आर्थिक सहायता दिने व्यवस्थाबाट भित्रै रहेका अवैध बसोबास गर्नेहरूमाथि दबाब बढेको छ।

प्रशासनको दाबीअनुसार लाखौँले स्वैच्छिक रूपमा अमेरिका छाडेका छन् र सयौँ हजार निष्कासित भएका छन्। सिमाना पार गर्नेको संख्या पनि पहिलेको तुलनामा करिब ९० प्रतिशतभन्दा बढीले घटेको दाबी अमेरिकी अधिकारीकै छ। अहिले त झन अमेरिकी सरकारले अमेरिकाबाट अन्य देशमा नै पठाउन सक्ने नीति लिएको छ।

तल्लो बाटो अर्थात् विभिन्न मुलुक हुँदै ल्याटिन अमेरिका र मेक्सिकोबाट अमेरिका पुग्ने प्रयास पनि ठूलो मात्रामा कम भएको अमेरिकी सरकारले नै जानकारी गराएको छ। दक्षिण एसियाली देशमा भारतबाट यो बाटो प्रयोग गर्नेको संख्या करिब ७० प्रतिशतले घटेको रिपोर्ट छ। नेपालको हकमा पनि धेरैजसो निष्कासित युवा यही बाटोबाट गएका हुन्।

सन् २०२५ मा मात्र करिब ४७० नेपाली फर्काइए, जुन एकल वर्षको उच्चतम हो, र जनवरी २०२५ यता कुल सात सयभन्दा बढी नेपाली निष्कासित भएको नेपाली नियोगहरूको जानकारीमा नै उल्लेख छ। आप्रवासन अदालतले दिने रिमुभल अर्डर पनि तीव्र रूपमा बढेको छ। भारतीयहरु पनि अधिक फर्कि रहेका छन्। प्लेन नै चार्टर गरेर पठाएका घटना पनि छन्।

सफल प्रवेश र बसाइको सम्भावना घटेकाले नयाँ प्रयास कम भएका छन्, तर डिटेन्सन र तेस्रो देशमा निष्कासनजस्ता केही नीतिमा अदालती चुनौती जारी छ। अहिले सिधै घर फर्काउँदा खर्च लाग्ने हुँदा अमेरिकाले नजिकका देशहरूमा पठाउन सक्ने नयाँ नीति पनि लिएको छ। तर पनि अझै नेपाली त्यसतर्फ जानै नहुने भन्नेमा छैनन्। कैयौँ नेपालीहरू अझै पनि जाने क्रममा रहेका त्यहाँ पुगेकाहरू नै सुनाउँछन्। जति कडाइ भए पनि नरोकिने यात्राका रूपमा रहेको छ अमेरिका…!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast