काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने ७ हजार ७ सयभन्दा बढी प्रतिनिधिको बसोबास काठमाडौँका सात क्षेत्रमा मिलाइएको छ। विभिन्न राजनीतिक दलका नेता तथा अन्तर्राष्ट्रिय अतिथिको सहभागिता पनि निश्चित हुँदै गएको कांग्रेसले जनाएको छ।
कांग्रेसका प्रवक्ता तथा १५औँ महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधिको बसोबासका लागि एअरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ।
हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एकएक जना संयोजक तोकेर सम्बन्धित भूगोलबाट आउने महाधिवेशन प्रतिनिधिको बसोबास समन्वय गर्ने व्यवस्था मिलाइएको छ। प्रतिनिधिको आवास तथा कार्यक्रमस्थलसम्मको आवतजावत खर्च भने स्वयंले व्यहोर्नुपर्नेछ।
प्रतिनिधिले आफ्नो बसोबाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत प्राप्त गर्ने व्यवस्था गरिएको छ। सहभागीका लागि बिहान, दिउँसो र साँझको भोजन भने भृकुटीमण्डपमा व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।
महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।
कांग्रेसका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र श्रम संस्कृति पार्टीका महासचिव आरेन राई उद्घाटन समारोहमा सहभागी हुने निश्चित भएको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्षको प्रतिनिधित्व कार्यवाहक महासचिव श्याम पौडेलले गर्नेछन्।
अन्तर्राष्ट्रिय अतिथिका रूपमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। अन्य अन्तर्राष्ट्रिय अतिथिको सहभागिता सुनिश्चित गर्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ।
प्राकृतिक विपद्का कारण दुई दिन पछि सरेको कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि सुरु हुँदै छ। यसअघि असोज १६ गतेदेखि महाधिवेशन गर्ने तयारी थियो।
महाधिवेशनका लागि कांग्रेसले १५ वटा समिति बनाएर व्यवस्थापकीय तयारी अघि बढाएको छ। उद्घाटन तथा बन्द सत्रका लागि खुलामञ्चमा तयारी तीव्र पारिएको छ। कार्यक्रमस्थलमै मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्रसमेत स्थापना गरिने विज्ञप्तिमा उल्लेख छ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विपद् र त्यसपछि असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण जनधनको क्षति भएकाले महाधिवेशनमा प्रचारप्रसारका नाममा तामझाम नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।



