काठमाडौँ- नेपाली कांग्रेस संस्थापनइतर समूहले पनि १५ औँ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ।
समानान्तर महाधिवेशन गर्ने तयारीमा रहेको संस्थापनइतर समूहले बिहीबार वडा अधिवेशन आयोजना गरेको हो।
यसैक्रममा काठमाडौं क्षेत्र नम्बर १ को संयुक्त वडा अधिवेशन उद्घाटन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले देशभर प्रारम्भ भइरहेको वडा अधिवेशन पार्टी फुटाउन नभई सुदृढीकरणका लागि भएको बताए।
उनले विशेष अधिवशेनको नाममा १४ औँ महाधिवेशनले दिएको म्यान्डेटबमोजिमको केन्द्रीय कार्यसमितिलाई भंग गर्ने प्रयास र जालझेल स्वीकार्य नहुने उल्लेख गरे।
उनले गैरवैधानिक कदमहरूले कांग्रेसलाई कमजोर बनाउने दुष्प्रयासमात्र गर्ने भएकाले सत्य र नीतिको बाटोमा हिँड्नुपर्ने धारणा राखे। आफूहरुले गर्ने महाधिवेशन नै आधिकारीक भएको उनको भनाइ छ।
कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गते महाधिवशेन सुरु गर्दैछ भने संस्थापनइतर समूहले पनि १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेका लागि तोेकेको छ। संस्थापनइतर समूहले असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरी निर्वाचन आयोगलाई जानकारी समेत गराइसकेको छ।



