काठमाडौँ- गुगलले सबैभन्दा उन्नत एआई (कृत्रिम मेधा) मोडलको नयाँ संस्करण सार्वजनिक गरेको छ। प्रविधि क्षेत्रमा नेतृत्वदायी स्थान पुनः हासिल गर्ने प्रयासमा रहेको गुगलले नयाँ मोडलले कोडिङ र साइबर सुरक्षामा प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिक र ओपनएआईका मोडललाई उछिनेको वा उनीहरूकै स्तरमा प्रदर्शन गरेको दाबी गरेको छ।
सिलिकन भ्यालीस्थित गुगलले बुधबार ‘जेमिनाई ४ आर्गन’ ले कोडिङ, व्यावसायिक काम, विज्ञान, गणित तथा साइबर सुरक्षासम्बन्धी उद्योगका मापदण्डमा अत्याधुनिक प्रदर्शन गरेको दाबी गरेको हो।
गुगलको मूल कम्पनी अल्फाबेटले यी क्षमताका आधारमा व्यावसायिक एआई बजारमा आफ्नो हिस्सा बढाउने अपेक्षा गरेको छ। अहिलेसम्म एआई प्रविधिको सबैभन्दा आकर्षक प्रयोगक्षेत्रका रूपमा व्यावसायिक क्षेत्रलाई लिइँदै आएको छ।
गत मेमा आयोजित वार्षिक डेभलपर सम्मेलनमा गुगलले आफ्नो अत्याधुनिक मोडलको अघिल्लो संस्करण ‘प्रो ३.५’ एक महिनाभित्र सार्वजनिक गर्ने बताएको थियो। तर त्यसो नगरेपछि आर्गनको सार्वजनिक घोषणा निकै प्रतीक्षित बनेको थियो।
गुगलले ‘प्रो ३.५’ सार्वजनिक नगर्ने निर्णय गरेको थियो। उक्त मोडल तयार गर्न अपेक्षाभन्दा धेरै समय लागेकाले र प्रतिस्पर्धी मोडलको तुलनामा त्यसको क्षमता कमजोर देखिन थालेपछि गुगलले त्यसलाई अघि नबढाउने निर्णय थियो। आर्गनको विकास भने अपेक्षाभन्दा तीव्र गतिमा भएपछि अघिल्लो मोडललाई थन्क्याइएको थियो।
गुगलका अनुसार उसका इन्जिनियर तथा अनुसन्धानकर्ताले आर्गनलाई सार्वजनिक गर्नुअघि नै क्वान्टम कम्प्युटिङसम्बन्धी अनुसन्धान, डेटा सेन्टरमा मेमोरीको प्रयोगलाई अधिकतम प्रभावकारी बनाउने तथा कोडिङ स्वचालित गर्न प्रयोग गरिरहेका थिए।
आर्गनले जटिल काम अझ प्रभावकारी रूपमा गर्न सक्ने गुगलको दाबी छ। यसको मुख्य कारण यसको कन्टेक्स्ट विन्डो निकै ठूलो हुनु हो। कन्टेक्स्ट विन्डोले एआईले जवाफ तयार गर्दा एकैपटक सन्दर्भका रूपमा प्रयोग गर्न सक्ने कोड, तस्बिरलगायतका तथ्य तथा सूचनाको मात्रा जनाउँछ। आर्गनमा यस्तो क्षमता १६ गुणाले बढाइएको छ।
गुगलले भनेको छ, “कोडिङ, तर्क क्षमता र बहुविध माध्यममा काम गर्ने क्षमता तथा लामो र बहुचरणीय कार्यलाई निरन्तर अघि बढाउन सक्ने क्षमताका कारण जेमिनाई ४ आर्गनले विभिन्न व्यावसायिक कार्यप्रवाहमा उत्कृष्ट प्रदर्शन गर्न सक्छ।”
गुगलले सफ्टवेयर, वित्त, कानुन र करजस्ता क्षेत्रमा प्रयोग हुने व्यावसायिक एआई बजारमा आफ्नो हिस्सा बढाउन यी क्षमताको उपयोग गर्ने लक्ष्य राखेको छ। यी क्षेत्रमा यसअघि एन्थ्रोपिक र ओपनएआईका मोडलको प्रभुत्व रहँदै आएको थियो।
गुगलका अनुसार ‘फेयरविन्ड’ कार्यक्रममार्फत आर्गन केही छनोट गरिएका कम्पनी तथा सरकारलाई उपलब्ध गराइएको छ। यस कार्यक्रमअन्तर्गत ती संस्था तथा निकायले मोडल प्रयोग गरी साइबर सुरक्षाका कमजोरी पहिचान र समाधान गर्न सक्नेछन्।
व्यापक रूपमा सार्वजनिक गर्नुअघि मोडल सुधारका लागि गुगलले उनीहरूको प्रतिक्रिया प्रयोग गर्नेछ।
गुगलले प्राप्त प्रतिक्रियाका आधारमा मोडलका सुरक्षा नियन्त्रण थप परिष्कृत गर्ने जनाएको छ। उसका अनुसार आर्गनलाई साइबर आक्रमण वा रासायनिक, जैविक, विकिरणजन्य तथा आणविक आक्रमणसँग सम्बन्धित हानिकारक अनुरोध अस्वीकार गर्ने गरी डिजाइन गरिएको छ।
गुगलले आर्गनलाई प्रम्प्ट इन्जेक्सनबाट पनि बढी सुरक्षित बनाइएको जनाएको छ। प्राम्प्ट इन्जेक्सन भनेको खराब वा भ्रामक निर्देशन प्रयोग गरी एआई मोडललाई उसको मूल निर्देशनबाट विचलित गराउने प्रयास हो। त्यस्तै, परीक्षणका क्रममा एआई एजेन्टहरू परीक्षण वातावरणबाट बाहिरिन नदिन थप सुरक्षा व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यस्ता सुरक्षा उपायबारे बहस पछिल्ला साताहरूमा थप तीव्र भएको छ। ओपनएआईका हजारौँ एआई एजेन्टले परीक्षण वातावरणबाट बाहिरिने प्रयास गरेको, खुला स्रोतको एआई भण्डार हगिङ फेसमा अनधिकृत पहुँच बनाएको तथा अस्ट्रेलियाली सरकारी प्रणालीमा समेत प्रवेश गरेको विवरण सार्वजनिक भएपछि यस विषयमा थप बहस भएको हो।
अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आयोजित दिवाभोजमा सहभागिता जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस अवसरमा उनले प्रमुख छ एआई विकासकर्ताबीच प्रविधिको ‘स्वनियमन’ गर्ने उद्देश्यले गरिएको स्वेच्छिक सम्झौतामा हस्ताक्षर गरेका थिए।
गुगलले आर्गनको मूल्यबारे कुनै जानकारी सार्वजनिक गरेको छैन। यसअघि भने ग्राहकहरू एआईको बढ्दो लागतप्रति चिन्तित हुन थालेपछि गुगलले प्रतिस्पर्धी कम्पनीलाई मूल्यमा चुनौती दिन ‘फ्ल्यास’ नाम दिइएका साना, सस्ता र तीव्र गतिका मोडल सार्वजनिक गर्न जोड दिँदै आएको थियो।



