चितवन- जिल्लामा ५ वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास संक्रमणको दर बढेको छ। आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा यो सङ्ख्या बढेको हो।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार गत आर्थिक वर्षमा प्रतिहजार बालबालिकामा ४३१ जनामा यो समस्या देखिएको थियो । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा यो संख्या ३९६ रहेको थियो। हरेक वर्ष यस्तो रोगका बालबालिका बढ्दै गएको भन्दै उनले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न अनुरोध गरे।
विशेषगरी आर्थिक अपस्था कमजोर भएको र ग्रामीण क्षेत्रका बालबालिकामा यो रोगको समस्या देखिएको उनको भनाइ छ। इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, माडी नगरपालिकाका बालबालिकामा यो रोगको संक्रमणदर वढ्दो रहेको छ। अहिले जिल्लामा पाँच वर्षमुनिका बालबालिका ४५ हजार ६०८ जना छन्।
यो संक्रमणमा एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाको श्वासप्रश्वास प्रतिनिमनेट ४० पटकभन्दा बढी हुन नहुने, दुई महिनादेखि एक वर्षसम्मको ५० पटक र दुई महिनामुनिका बालबालिकाको ६० पटक हुनुपर्ने हुन्छ। श्वासप्रश्वासमा समस्या देखिँदा रुघा, खोकी लाग्ने, निमोनिया हुने र बच्चाको कोखा हानेकोजस्तो हुने, खान मन नगर्नेलगायतका लक्ष्यण देखिए जटिल समस्या भएको मान्ने गरिन्छ । यस्तो समस्या देखिएका बालबालिकालाई तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने उनको भनाइ छ।
भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. किरण देवकोटा छिटो श्वासप्रश्वास हुनु रोग नभए पनि रोगको लक्ष्यण भएको बताउँछन्। यस्ता बालबालिकामा निमोनिया, स्वासनलीमा समस्यालगायतका कारण हुने गर्दछ। मौसमी फ्लुका कारण बालबालिकामा यो समस्या हुने उनले जानकारी दिए। यो संक्रमणबाट बच्नका लागि चिसो, धुवाँ, धुलोबाट बच्नुपर्छ।



