म्याग्दी अपडेट : पहिरोबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो, ३ बेपत्ता

हिमाल प्रेस १२ असोज २०८३ ७:१६ | Monday, September 28, 2026
6
SHARES
म्याग्दी अपडेट : पहिरोबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो, ३ बेपत्ता

म्याग्दी- म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको छ भने तीन जना बेपत्ता भएका छन्। अन्नपूर्ण गाउँपालिकामा चार जना र मालिका गाउँपालिकामा दुई जनाको शव भेटिएको छ। म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनी नगरपालिकामा एक जना र अन्नपूर्ण गाउँपालिकामा दुई जना बेपत्ता भएका बताए।

पहिरोमा पुुरिएका अन्नपूर्ण गाउँपालिका–५ गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा, ५६ वर्षीया दोमाया गर्बुजा र पाँच वर्षीया जेनी पुुनको शव भेटिएको उनको भनाइ छ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार मालिका गाउँपालिका–३ औलामा किरन पुन र देव बहादुर पुनको पहिरोमा पुरिएर मृत्यु भएको छ।

अन्नपूूर्ण गाउँपालिका–८ काफलडाडाका १९ वर्षीय सविन चोचाङ्गीको शव भेटिएको र २२ वर्षीय मनोज गर्बुजा बेपत्ता रहेका म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए। उनका अनुसार पहिरोमा परि बेपत्ता भएका बेनी नगरपालिका–३ भकिम्ली छेपारेका ३६ वर्षीया कुमारी वली विक र अन्नपूर्ण गाउँपालिका–३ फगामकी युमाया पाईजा बेपत्ता भएका छन्।

पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका ७८ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत शिखघारमा ल्याएर सुरक्षित ठाउँमा बसोबासको ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए।

अस्थायी शिवरमा राहत सामग्रीको पनि व्यवस्था मिलाइएको छ। भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्र भएका, विद्युत, सञ्चार, सडक अवरुद्ध भएकाले घटनास्थलबाट जानकारी प्राप्त हुन, सुरक्षाकर्मी पुग्न, उद्दार, बेपत्ताको खोजीमा ढिलाई भएको प्रजिअ गैरेले बताए।

चार दिनको लगातारको झरिका कारण बाढी पहिरोले म्याग्दीमा विद्युत, सडक र सञ्चार सुविधा अवरुद्ध बनेको छ। बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बागलुङ सडक अवरुद्ध भएका छन्।

पर्वतको मालढुङ्गा स्थित कालीगण्डकी नदीमा रहेको सडक पुलको पहुँचमार्ग, सहश्रधारामा सडक कटान भएकाले म्याग्दी, बागलुङ र मुस्ताङको पोखरा–काठमाडौ लगायत सहरसँग यातायात सम्पर्क बिच्छेद भएको छ।

आज दिउँसोदेखि वर्षा रोकिएको र नदीहरुमा बाढीको सतह घटेको बताउँदै प्रजिअ गैरेले सडक, विद्युत र सञ्चार सुविधा सञ्चालनका लागि पहल भइरहेको जानकारी दिए।

प्रकाशित: १२ असोज २०८३ ७:१६ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast