सेनाद्वारा बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउने काम जारी (तस्बिरहरू)

हिमाल प्रेस ११ असोज २०८३ १३:०७ | Sunday, September 27, 2026
6
SHARES
सेनाद्वारा बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउने काम जारी (तस्बिरहरू)

काठमाडौँ- अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक खुलाउने कार्य जारी राखेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा आज बिहान कालीगण्डकी नदी बस्तीमा पस्दा घरहरू बगाएको खबर प्राप्त भएपछि नयाँ रणभीम गुल्मबाट फौज परिचालन गरिएको छ। फौजले स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै सरसामान सार्न सहयोग गरिरहेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका-२ भुताहामा नारायणी नदीको बहाब बढेर बाढी तथा डुबानको जोखिम सिर्जना भएपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नं. २ वन तथा पर्यावरण सुरक्षा गणको फौज खटिएको छ।

सुस्ता गाउँपालिका-५ स्थित सुस्ता इलाकामा डुबानको जोखिम भएपछि गोरखदल गणको सुरक्षा वेश त्रिवेणीबाट फौज परिचालन गरी स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ।

पाल्पाको माथागढी गाउँपालिका-३ लेन्दीमा पहिरोले घर पुरेको खबर प्राप्त भएपछि दि फेमस महिन्द्र दल गणको फौज घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्यमा जुटेको छ।

यसैगरी, भरतपुर महानगरपालिका-१ देवघाट र वडा नं. ३ बाह्रघरेमा नारायणी नदीको सतह बढेपछि नयाँ सबुज गणको फौज स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खटिएको छ।

धनुषाको मिथिला नगरपालिका-११ आपगाछी, चुरेमा पहिरो गई घर पुरिएको सूचना प्राप्त भएपछि नेपाली सेनाको फौज खोज तथा उद्धारका लागि परिचालन गरिएको छ।

यसैबीच, तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो र लेदो आएर अवरुद्ध भएको सडक खण्ड काली भञ्जन गण (ई) बाट खटिएको फौजले स्थानीय निकायसँगको सहकार्यमा अवरोध हटाएको छ। उक्त सडक अहिले पूर्ण रूपमा सञ्चालनमा आएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित: ११ असोज २०८३ १३:०७ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast