भोटेकोशी बाढीको एक महिना : १४५३ को अकालमै निधन, ५ हजार ५५० अझै वेपत्ता

हिमाल प्रेस १० असोज २०८३ ६:२० | Saturday, September 26, 2026
4
SHARES
भोटेकोशी बाढीको एक महिना : १४५३ को अकालमै निधन, ५ हजार ५५० अझै वेपत्ता फाइल तस्बिर

काठमाडौँ- रसुवाको भोटेकोशी नदी बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते बिहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एक हजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन् । यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत सहित अन्य सेवाका लागि तीन वटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र तल्लीन छन् ।

बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ । उक्त विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदन अनुसार पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ । विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घरहरू क्षतिग्रस्त भएका छन् ।

यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । सात सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् भने ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त, ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ बगेका छन् । यस्तै, ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । करिब सात हजार ५७० घरहरु प्रभावित हुँदा आठ हजार ३०० घरपरिवार र करिब ४० हजार जनसङ्ख्या प्रभावित भएका छन् । बाढीका कारण उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ । त्यसैगरी, १७ बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत वितरण जारी छ भने क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण, सडक सञ्जालको पहुँचले जोड्ने लगायतका कार्य द्रुत जारी छ ।

‘संकटमा ‘राज्य र रेडक्रस उपस्थित छन्’

विनाशकारी बाढीगए लगत्तै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले आवश्यक समन्वय एवं पहल गरी आपत्कालीन सहयोग कोष (ड्रिफ) मार्फत (१२ लाख अमेरिकी डलर) खर्च गर्न स्वीकृति सुनिश्चित गर्दै बाढी प्रभावितको तत्काल खोज, उद्धार तथा राहतमा जुट्न नेपाल रेडक्रसको स्वयंसेवक र ‘आइएफआरसी’का ‘टिम’लाई आह्वान गरेका थिए ।

साथै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाइ सम्बन्धित जिल्ला शाखा तथा स्वयंसेवकहरूलाई बाढी प्रभावितको खोज, उद्धार परिचालित गरेको थियो । सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीका नेतृत्वमा एक टोलीले तत्काल प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी बाढी प्रतिकार्य सञ्चालनलाई अगाडि बढाएको थियो ।

स्वयंसेवकहरूले खोज तथा उद्धारमा सहयोग गर्नुका साथै प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान र समन्वयमा सहयोग पुर्‍याइरहेका छन् । ‘आइएफआरसी’को ‘ड्रिफ’ ले विपद प्रभावितलाई तत्काल उद्धार र राहत सुरुआत गर्न सम्भव बनाइरहेको छ । यसबाट खानेपानी, टेन्ट, तारपोलिन, कम्बल, ओछ्याउने म्याट, प्राथमिक उपचार, स्ट्रेचर, शव व्यवस्थापनका लागि सामग्री (डेथ बडी–ब्याग), मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सहयोग, आपतकालीन स्वास्थ्य सेवा, सरसफाइ ‘किट’ जस्ता सामग्री तथा सेवा छिटो भन्दा छिटो प्रभावित स्थानमा पठाउन र वितरण गर्न सम्भव भएको जनाइएको छ ।

महासचिव तथा प्रमुख कार्यकारी अधिकृत चापागाईँले भने, “ड्रिफ समयमा निकासा हुँदा तत्काल बाढी प्रतिकार्यमा सहयोग पुर्‍यायो । स्वयंसेवक सहित उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न सफल भए । प्रभावितले राहत सामग्री उपयोग गर्न पाउनुभयो । यसले अकाल मृत्यु, रोग र थप मानवीय पीडाको संकट घटाउन सहयोग पुर्‍यायो । यसबाट विश्वासको वातावरण निर्माण बनाउन सहयोग पुर्‍यायो । सङ्कटका अवस्थामा ‘राज्य र रेडक्रस उपस्थित छन्’ भन्ने अनुभूति समुदायमा दिलायो । यसले सामाजिक तनाव र अविश्वास घटाउन सहयोग पुर्‍यायो ।”

भोटेकोशी बाढीमा ‘फ्ल्यास फ्लड’को प्रकृतिअनुसार स्रोत परिचालनको गति पनि अत्यन्तै छिटो भएको र ‘ड्रिफ’ र आपतकालीन अपिल अत्यन्त छिटो सक्रिय रहेको उनले जानकारी दिए । महासचिव चापागाईँ भने,“भोटेकोशी बाढी प्रतिकार्यलाई ‘जलवायु संवेदनशील मानवीय प्रतिकार्य’को एउटा महत्त्वपूर्ण ‘मोडेल’ बन्न सक्छ । ”

बढी प्रतिकार्य अन्तर्गत विभिन्न मानवीय सहायताका काम निरन्तर जारी रहेको नेपाल रेडक्रसले जनाएको छ । रेडक्रसको महामन्त्री ऋषिरमण खनालले भोटेकोशी बाढी गएको सुरुआती दिनदेखि प्रतिकार्य निरन्तर जारी रहेको जानकारी दिए । उनले सुरुआती क्षणमा बाढी प्रभावितको खोज,उद्धारमासहयोगको साथसाथै हाल आवास तथा गैरखाद्य, खाद्य सामग्रीको वितरण, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा प्राथमिक मनोसामाजिक सहयोग, रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक, परिवार पुनर्मिलन तथा सम्पर्क पुनः स्थापना, बहुउद्देश्यीय नगद सहायता/नगद तथा भौचर सहायता लगायतका क्षेत्रमा मानवीय सहायता निरन्तर जारी रहेको बताए । रासस

प्रकाशित: १० असोज २०८३ ६:२० | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast