काठमाडौँ- सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचनालाई दृष्टिगत गर्दै उक्त मन्त्रालयले प्रदेशका स्वास्थ्य, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने र विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्नेगरी पूर्वतयारी गर्न निर्देशन दिएको छ।
प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ।


