एमाले बैठकमा सेनाका कुरा, विष्णु रिजालले मागे पार्टीको धारणा

हिमाल प्रेस ७ असोज २०८३ १६:५८ | Wednesday, September 23, 2026
8
SHARES
एमाले बैठकमा सेनाका कुरा, विष्णु रिजालले मागे पार्टीको धारणा

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली सेनाप्रति पार्टीको दृष्टिकोण स्पष्ट पार्नुपर्ने माग गर्दै पार्टीको सत्ता रणनीति, वाम एकता, नयाँ पुस्ताको सहभागिता र विगतका नीतिमाथि समेत गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखेका छन्।

एमाले केन्द्रीय कमिटी बैठकमा बुधबार धारणा राख्दै रिजालले भदौ २३-२४ का घटनामा नेपाली सेनाको भूमिकाबारे कैयौँ प्रश्न अनुत्तरित रहेको बताए। अध्यक्ष केपी शर्मा ओलीले आफू पाँच मिनेट ढिलो भएको भए बालुवाटारमै मारिन सक्ने बताएको तथा राधिका शाक्यले पनि सेनाको भूमिकासँग सम्बन्धित धारणा सार्वजनिक गरेको प्रसंग उल्लेख गर्दै उनले पार्टीले सेनाप्रतिको दृष्टिकोण स्पष्ट गर्नुपर्ने बताए।

उनका अनुसार सेनाले पार्टी नेतृत्वको सुरक्षा र सहजीकरण गरेको अवस्थामा संसद्‌मा बारम्बार नेपाली सेनालाई मुख्य निशानाजस्तो गरी प्रस्तुत गरिँदा एमालेकै दृष्टिकोण त्यही हो भन्ने भ्रम सिर्जना भएको छ। यसले राज्यका स्थायी संरचनासँग पार्टीको टकराव बढाएको भन्दै उनले यस विषयमा स्पष्टता आवश्यक रहेको बताए।

रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदनले पार्टीका कमजोरी पहिचान गरेको भन्दै निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै आगामी बाटोसमेत प्रस्तुत गरिएकामा समर्थन जनाए। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको व्याख्याले पार्टीका मुख्य नेताबीच देखिएको अविश्वास हटाउन सहयोग पुगेको उनको भनाइ थियो।

उनले आगामी स्थानीय तह निर्वाचनलाई पार्टीको मुख्य कार्यभारका रूपमा अघि बढाउनुपर्ने प्रस्ताव गरे। केन्द्रीय कमिटी सदस्यहरूलाई आफ्नो पालिका जिताउने जिम्मेवारी दिनुपर्ने र उम्मेदवार छनोट प्रक्रियादेखि नै उनीहरूलाई सहभागी गराउने संस्थागत व्यवस्था गर्नुपर्ने उनले बताए।

रिजालले एमालेले वामपन्थी एकताको निर्णय गर्नुपर्ने धारणा पनि राखे। नेकपासहित अन्य वामपन्थी दलसँग पार्टीको नीति र नेतृत्वमा एकता गरेर कम्युनिस्ट आन्दोलनलाई पुनःस्थापित गर्न सहज हुने उनको भनाइ थियो। समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि नारा, सिद्धान्त, रणनीति, कार्यनीति र कार्यशैलीमाथि गम्भीर बहस आवश्यक रहेको उनले बताए।

उनले नयाँ पुस्ता अहिलेको परम्परागत राजनीतिक शैलीबाट आकर्षित हुन नसकेको भन्दै पार्टीमा नयाँ पुस्तालाई भित्र्याउने नीति आवश्यक रहेको बताए। विभिन्न कमिटीमा युवालाई स्थान दिने वर्तमान व्यवस्था पर्याप्त नभएको उल्लेख गर्दै पार्टीसँग असम्बद्ध भए पनि आफ्नो क्षेत्रमा राम्रो काम गरिरहेका योग्य र व्यवसायी युवालाई खोजेर पार्टीमा ल्याउनुपर्ने प्रस्ताव उनले गरे।

पार्टीका विभागमा कम्तीमा ५० प्रतिशत विशेषज्ञ युवालाई समेट्ने नीति बनाउनुपर्ने तथा उनीहरूसँग नियमित अन्तरक्रिया गरेर पार्टीसँग जोड्ने वातावरण बनाउनुपर्ने रिजालको धारणा थियो।

डिजिटल माध्यममा पार्टीको उपस्थितिलाई पनि उनले प्राथमिकतामा राख्नुपर्ने बताए। पार्टीका परम्परागत संरचना मात्र आजको डिजिटल चुनौती सामना गर्न पर्याप्त नभएको उल्लेख गर्दै केन्द्रमा २४ घण्टा सक्रिय रहने छुट्टै डिजिटल विभाग बनाउनुपर्ने र प्रदेश तथा स्थानीय तहसम्म त्यसलाई विस्तार गर्नुपर्ने उनको प्रस्ताव थियो।

रिजालले एमालेका विगतका राजनीतिक नारा र नीतिमाथि पनि प्रश्न उठाए। ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउने नारा, नेपालमा एमाले र कांग्रेस मात्रै रहने धारणा तथा ‘छैन कसैसँग शत्रुता, छ सबैसँग मित्रता’ भन्ने नाराको वर्तमान राजनीतिक परिस्थितिसँगको सान्दर्भिकतामाथि पुनर्विचार गर्नुपर्ने उनले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति एमालेले अपनाएको रणनीतिको समेत समीक्षा गर्नुपर्ने उनको धारणा थियो। २०७९ सालको निर्वाचनपछि रास्वपाले जनताको ध्यान आकर्षित गर्दा त्यसलाई गम्भीर चुनौतीका रूपमा लिएर तयारी गर्नुको सट्टा ‘लोकप्रियतावाद धेरै चल्दैन’ भन्ने निष्कर्ष निकालिएको र पछि सरकारमा सहकार्य तथा सरकारबाहिर रहँदा त्यसका प्रमुख नेतालाई पक्राउ गर्ने अवस्थासम्म पुगेको प्रसंग उल्लेख गर्दै उनले त्यसबाट पार्टीलाई फाइदा भयो कि घाटा भन्ने समीक्षा गर्नुपर्ने बताए।

सत्ता राजनीतिप्रति पनि रिजालले गम्भीर प्रश्न उठाए। २०४७ सालयता ३६ वर्षमा मुलुकमा २९ वटा सरकार बनेको र तीमध्ये १७ वटामा एमाले सहभागी भएको तथा सातपटक सरकारको नेतृत्व गरेको तथ्य प्रस्तुत गर्दै उनले जुनसुकै शक्ति र परिस्थितिमा सरकारमा सहभागी हुने कार्यनीतिले पार्टीलाई सत्ता समीकरणभन्दा बाहिरबाट सोच्ने अवसर नदिएको बताए।

२०७९ सालपछि पहिलोपटक एमाले न सत्तामा रहेको न प्रमुख प्रतिपक्षमा रहेको अवस्था उल्लेख गर्दै उनले समाजवाद साम्यवादलाई रणनीति बनाउने तर सरकार निर्माणमा जुनसुकै शक्तिसँग सहकार्य गर्ने कार्यनीतिले पार्टीको रणनीतिक लक्ष्यलाई सहयोग गरेको हो कि पार्टीलाई सत्ता बजारको उपभोक्ता मात्र बनाएको हो भन्ने प्रश्न गरे।

लाभका पदमा एउटै व्यक्ति पटकपटक जाने अभ्यासको समेत समीक्षा गर्नुपर्ने उनको भनाइ थियो। पार्टीले या त कार्यनीति परिवर्तन गर्नुपर्ने या समाजवाद साम्यवादको रणनीतिमाथि नै पुनर्विचार गर्नुपर्ने धारणा रिजालले बैठकमा राखेका छन्।

प्रकाशित: ७ असोज २०८३ १६:५८ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast