काठमाडौँ- नेपाली सेनाले बाढीपहिरो तथा अन्य विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण तथा स्वास्थ्य सेवा सञ्चालनलाई निरन्तरता दिएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बुधबार बिहान ६ः३० बजेसम्म सेनाको हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार २३० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९४७ जना नेपाली र २८३ जना विदेशी नागरिक छन्।
सेनाले माथिल्लो त्रिशूली-१, त्रिशूली-३ए र त्रिशूली-३बी लगायतका जलविद्युत् आयोजनाका टनेलमा समेत खोजी कार्य जारी राखेको छ।
रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायतका प्रभावित क्षेत्रमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य भइरहेको सेनाले जनाएको छ।
सडक सम्पर्कबाट विच्छेद भएका तथा दुर्गम क्षेत्रमा ड्रोनमार्फत राहत सामग्री ढुवानी भइरहेको छ। सेनाका अनुसार हालसम्म नुवाकोट र रसुवाका विभिन्न स्थानमा ड्रोनमार्फत ३६ हजार ३१७ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्।
उनीहरूले समन्वयात्मक रूपमा खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारका काम गरिरहेका छन्।
यसैगरी, वेत्रावती नदीमा बेलिब्रिज जडानका लागि बेस तयार गर्ने स्थानसम्म पुग्ने बाटो निर्माणको काम भइरहेको सेनाले जनाएको छ।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बुधबार सात जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म ती स्वास्थ्य सेवाबाट ४ हजार २३ जनाले लाभ लिइसकेका छन्।


