काठमाडौँ- सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
शपथपछि सूचना तथा सञ्चारमन्त्री डा तिमिल्सिनाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिए। उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।
सञ्चारमन्त्री तिमिल्सिनाले बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित गर्ने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले विज्ञापन बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको गम्भीर समीक्षा गरी सुधारका स्पष्ट योजनासहित काम गर्नुपर्ने बताए। विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले बोर्डले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए।
लोककल्याणकारी विज्ञापन वितरणलाई समेत वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउन आवश्यक रहेको उनले बताए। लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिताको विषयमा महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाउँदै आएको सन्दर्भ उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।


