काठमाडौँ- नेपाली कांग्रेसले वडा अधिवेशन धमाधम गरिरहँदा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने अन्योलमा देखिएको छ। आफ्नो पक्षका अधिकांश नेताहरू संस्थापन (गगन थापा) पक्षमा खुलेपछि देउवा कांग्रेस संकटमा देखिएको नेताहरूले बताएका छन्। नेताहरूका अनुसार देउवा समूहमा उत्साहविहीन बहस चलिरहेको छ। यसैबीचमा देउवा समूह महाधिवेशन अघि बढाउने तयारीमा छ।
सम्पर्क कार्यालय चुनदेवीमा कार्यकर्ताको खासै उपस्थिति छैन। अधिकांश नेता–कार्यकर्ता जिल्लागत कार्यक्रममा व्यस्त भएकाले पनि सम्पर्क कार्यालय शून्य छ। देउवा पक्षीय धेरै नेता रनभुल्लमा छन्। ‘पछिल्लो गतिविधिले केही सुस्तता ल्यायो। हामी बहसमै छौँ’, एक नेता भन्छन्।
देउवा पक्षका ४० केन्द्रीय नेता गगन पक्षमा खुलेका थिए। देउवाका पुराना सहयात्री साथै ‘हाडलाइनर’ नेतासमेत बाहिरिँदा इतरपक्ष संकटमा परेको हो। तर पनि देउवा पक्ष जसरी पनि महाधिवेशन गराउने तयारीमा जुटेको छ। सभापति गगन थापाले असोज ३ देखिको महाधिवेशन ल्याएपछि देउवा पक्षले पनि असोज १५ देखिको खाका ल्याएको हो।
गगनले जसोजसो गर्दै छन्, देउवा पक्ष उसै गरिरहेको छ। शशांक कोइरालालाई संयोजक रहेको देउवा पक्षले ७७ जिल्लामै आफ्ना जिल्ला प्रतिनिधि तोकेको छ। आफ्ना पक्षमा माहोल बनाउन जिल्ला संयोजक पनि तोकिरहेको छ।
दुई कांग्रेस, दुई विधान
थापा विशेष महाधिवेशनबाट सभापति चुनिएका हुन्। त्यसै बेला विधान संशोधन गरेर ल्याइएको नेपाली कांग्रेसको विधान, २०१७ को एघारौँ संशोधनअनुसार कांग्रेस (सानेपा) चलिरहेको छ। सानेपामा गत पुस २७ देखि माघ २ सम्म भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको नेतृत्व छ। विधानमै पनि एघारौँ संशोधन (२०८२÷०९÷३०) लेखिएको छ।
चुनदेवीले भने यो विधान चिन्दैन। चुनदेवीमा कार्यालय खडा गरेका देउवा पक्ष भने देउवा सभापति बन्दाको दसौँ संशोधन (२०७८/८/२८) अनुसार गतिविधि बढाइरहेको छ। ‘हामी चौधो महाधिवेशनकै विधान चलाउँछौँ। बीचमा भएका गतिविधि जान्दैनौँ’, देउवा पक्षीय नेता दीपक कुँइकेल भन्छन्।
सभापति थापाले पुरानो क्रियाशील सदस्यता अनिवार्य नवीकरण गर्नुपर्ने विधान ल्याएका थिए। देउवा पक्षले भने सबैको स्वतः सदस्यता नवीकरण हुने प्रावधान ल्याएको छ। ‘हामी कसैको सदस्यता छुटाउँदैनौँ। १४ औँ महाधिवेशनमा छुटेकाको पनि स्वतः नवीकरण हुन्छ’, कुइँकेल भन्छन्, ‘नयाँ सदस्यता लिनेका लागि असोज ९ गतेसम्मको म्याद छ तर थप हुन सक्छ।’
सहयात्रीले छाडे साथ, बिलखबन्द नेताको आस
पुराना सहयात्रीले साथ छाडेसँगै देउवा समूह तनावमा छ। पूर्वसहमहामन्त्री डिना उपाध्याय ‘महालक्ष्मी’ नेतृत्वको ४० हाराहारी नेता संस्थापनमा खुल्दा देउवा पक्ष संकटमा परेको हो।
ती समूहका नेताहरूले दुई पार्टी नबन्ने जिकिर गर्दै समूह छाडेका थिए। हालै मात्र थापा पक्षमा खुलेका देउवाका पूर्वसहयात्री मीन विश्वकर्माले अब दुई पार्टी बन्न नसक्ने बताउँछन्। यही कारण पनि देउवा समूह पार्टी बनाउने संघर्षमा छ।
‘हामी महाधिवेशन जसरी गर्छौँ, गाउँगाउँमा नेताहरू पुगिसक्नुभएको छ’, कुइँकेल भन्छन्। देउवा समूह पूर्णबहादुर खड्का र शेखर कोइरालाप्रति सहयोगमा आशामा छ।
खड्का थापा समूहमा खुले पनि ‘तटस्थ’ छन्। नैतिकताका आधारमा आफूले महाधिवेशनमा भाग नलिने बताएका उनी आफूहरूतिर ढल्किने आस देउवा पक्षको छ। मध्यमार्गमा रहेका शेखर पनि आफूहरूप्रति लचक रहेको देउवा पक्षको दाबी छ। उनले दुवै पक्षको महाधिवेशन स्थगित गरेर सहमतिमा आउन अनुरोध गरेका थिए।
हङकङबाट फर्किएपछि चलायमान देखिएका देउवा पछिल्लो समय कुनै गतिविधिमा सहभागी भएका छैनन्। स्वेदश फर्किएलगत्तै इतरपक्षको राष्ट्रिय भेलामा समेत सहभागी भएका देउवा परामर्शमा छन्।
विशेष महाधिवेशन खारेज गर्दै आफ्नै नेतृत्वमा कांग्रेस फर्काउन देउवाले सर्वोच्चमा रिट दायर गरेका छन्। उनी त्यही फैसलाको पखाईमा छन्। ‘पुरानो फैसला खारेज हुने सम्भावना छ। हामी सत्तामा फर्किन सक्छौँ’, देउवा निकट एक नेता बताउँछन्।
देउवासँग विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउद, उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत, दीपक कुइँकेल, प्रकाशशरण महतसहित शीर्ष नेताहरू छन्।



