डाटा सेन्टरको समस्या हट्यो, अब नेप्से नियमित सन्चालन आउने

हिमाल प्रेस ६ असोज २०८३ ११:१६ | Tuesday, September 22, 2026
6
SHARES
डाटा सेन्टरको समस्या हट्यो, अब नेप्से नियमित सन्चालन आउने

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रोकिएको धितोपत्र कारोबार आजदेखि नियमित रूपमा सञ्चालन हुने भएको छ। नेप्सेका ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि कारोबार पुनः सञ्चालन गर्न लागिएको हो।

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि असोज ६ गतेदेखि कारोबार पूर्ववत् सञ्चालन गर्ने निर्णय भएको हो।

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो । समस्या समाधान नभई कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमै असर पर्न सक्ने जोखिम देखिएपछि सावधानीस्वरूप कारोबार रोकिएको नेप्सेले जनाएको छ ।

यस घटनाप्रति नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समेत चासो देखाउँदै नेप्सेलाई अध्ययन तथा जाँचबुझ गर्न निर्देशन दिएको छ । भविष्यमा यस्ता प्राविधिक समस्या दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित प्रतिवेदन पेस गर्न बोर्डले निर्देशन दिएको हो ।

बोर्डले घटनाको निरीक्षण तथा अध्ययनका लागि उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय टोलीसमेत गठन गरेको छ । टोलीले डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या, कारोबार स्थगित गर्नुपर्ने अवस्था आउनुको कारण तथा आगामी दिनमा अपनाउनुपर्ने सुधारका उपायबारे अध्ययन गर्नेछ ।

बोर्डका अनुसार निरीक्षण टोलीले आफ्नो सुझाव र सुधारका उपायसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्नुपर्नेछ । उक्त प्रतिवेदनका आधारमा धितोपत्र बजारलाई थप सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन आवश्यक कदम चालिने बोर्डले जनाएको छ ।

यद्यपि डाटा सेन्टरको तत्कालीन प्राविधिक समस्या समाधान भइसकेको भए पनि घटना उत्पन्न हुनुको विस्तृत प्राविधिक कारण र यसबाट सिर्जना हुन सक्ने प्रणालीगत जोखिमबारे भने अध्ययनपछि मात्रै स्पष्ट हुने देखिएको छ ।

प्रकाशित: ६ असोज २०८३ ११:१६ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast