काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले दोस्रो दिनको सुरुवाती शत्रमा महासचिव शंकर पोखरेललाई सम्बोधन गर्न दिएका छन्। पोखरेलले पुनर्गठन भन्दै ओलीले राजीनामा दिनुपर्ने दबाब बढाएपछि पहिलो दिन बोल्न पाएका थिएनन्।
सामान्यतया: कार्यक्रम सन्चालनको जिम्मेवारी महासचिवको भए पनि ओलीले अवसर दिएनन्। पहिलो दिन ओलीले आफै कार्यक्रम सन्चालन गरेका थिए। दोस्रो दिन भने ओलीले मौका दिएका छन्। अन्य पदाधिकारीलाई पनि बोल्ने मौका दिने ओली निकट स्रोतले जनाएको छ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार भनिमण्डल स्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम सुरु हुने छ । हरेक केन्द्रीय सदस्यले बढीमा तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरु राख्ने गरी समय व्यवस्थापन गरिएको आचार्यले जनाए ।
अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा जानकारी गराएका नौ वटा एजेण्डा मध्ये आठवटाको कारबाही आजबाट सुरु हुने हो । आजबाट क्रमश केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनय,विभागहरुको गठन,पोलिटव्यूरो गठन,स्थायी कमिटीको गठनका एजेन्डा अघि बढाउने तयारी छ। यसैगरी सल्लाहकार परिषद, ज्येष्ठ कम्यूनिष्ट मञ्च,अनुशासनका सम्बन्धमा दृष्टिकोण बनाउने पनि यही बैठकले गर्ने छ ।


