काठमाडौँ- भन्सार विभागले चीनबाट जनै आयात नभएको स्पष्ट पारेको छ।
केही सञ्चारमाध्यम, प्राज्ञिक व्यक्तित्वहरू तथा एमाले महासचिव शंकर पोखरेल र नेकपाका नेता अग्निप्रसाद सापकोटाले चीनबाट जनै आयात भएको भन्दै छरेको भ्रमलाई भन्सार विभागले चिरेको हो।
विभागको तथ्यांकअनुसार भारत र चीनबाट ‘कटन थ्रेड्स’ अर्थात् धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारिएको छ।
आयात गरिने सामानको विश्वव्यापी रूपमा बुझिने ‘कोड’ नाम राखिएको हुन्छ। जनैको त्यस्तो छुट्टै कोड नाम नभएकाले धागोकै रूपमा आउन र त्यसलाई जनै नै आएको हो भनी भन्न नसकिने विभागका तथ्यांक निर्देशक हरिओम पोखरेलले बताए।
उनका अनुसार आर्थिक वर्ष २०८२/२०८३ मा एक लाख १८ हजार ४६८ किलो सिउने धागोका नाममा नेपाल आयात भएको देखिन्छ।
यसैगरी चालु आर्थिक वर्षको अहिलेसम्ममा १० हजार १८४ केजी धागो आयात भएको छ। त्यसमध्ये भारतबाट सात हजार १४४ केजी र चीनबाट दुई हजार ९९६ केजी आयात भएको छ।
जापानबाट पनि ४४ केजी धागो आयात भएको विभागले जनाएको छ।
कसरी फैलिएको थियो भ्रम [भिडियो]


