काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन करिब एक महिना बाँकी छ। आठवटै फ्रेन्चाइज टीमहरूले विदेशी खेलाडी भित्र्याउनेक्रम जारी छ।
यसपटक विश्व क्रिकेटका स्थापित स्टारदेखि एनपीएलमा प्रभाव छाडेका खेलाडीको पुनरागमनले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउने संकेत देखिएको हो।
हालसम्म सार्वजनिक भएका विवरणअनुसार आठ टोलीले १६ विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन्। अस्ट्रेलियाका पूर्वविश्वकप विजेता डेविड वार्नर, बंगलादेशका अनुभवी अलराउन्डर शाकिब अल हसन, जिम्बाब्वेका सिकन्दर राजा, भारतका विकेटकिपर ब्याटर केएस भरत, न्युजिल्यान्डका जिम्मी निशम र श्रीलंकाका टी-२० कप्तान चरिथ असलंकाजस्ता चर्चित नामले यसपटकको संस्करणको आकर्षण बढाएका छन्।
विदेशी खेलाडीको स्तर हेर्दा यसपटक एनपीएलले दक्षिण एसियाली फ्रेन्चाइज क्रिकेटसँग प्रतिस्पर्धा गर्न सक्ने संकेत पनि दिएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका यी खेलाडीको उपस्थितिले नेपाली क्रिकेटरलाई ड्रेसिङ रुममै सिक्ने अवसर मिल्नेछ।
काठमाडौँ गोर्खाजले सबैभन्दा ठूलो नामका रूपमा अस्ट्रेलियाका आक्रामक ओपनर डेविड वार्नरलाई अनुबन्ध गरेको छ। दुई पटक एकदिवसीय विश्वकप, एक पटक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितिसकेका वार्नर एनपीएलमा खेल्ने सबैभन्दा चर्चित खेलाडीमध्ये एक मानिएका छन्। वार्नरसँग आईपीएलबाहेकका फ्रेन्चाइज लिग खेलेको अनुभव छ। आक्रामक ओपनरको पहिचान बनाएका उनको उपस्थितिले एनपीएललाई रोमाञ्चक बनाउने नै छ, नेपाली खेलाडीहरूले उनको अनुभवबाट सिक्ने मौका समेत पाउनेछन्।
काठमाडौँले भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत र श्रीलंकाका अलराउन्डर सहान अराचिगेलाई पनि टोलीमा समेटेको छ।
पोखरा एभेन्जर्सले बंगलादेशका पूर्वकप्तान शाकिब अल हसनलाई अनुबन्ध गर्दै अलराउन्ड विभाग बलियो बनाएको छ। लामो अन्तर्राष्ट्रिय अनुभव भएका शाकिबले ब्याटिङ र बलिङ दुवैमा खेलको दिशा बदल्न सक्ने क्षमता राख्छन्। पोखराले श्रीलंकाका धनञ्जय लक्षणलाई पनि निरन्तरता दिएको छ।
चितवन राइनोजले जिम्बाब्वेका सिकन्दर राजालाई टोलीमा भित्र्याएको छ। राजासँगै इंग्लिस अलराउन्डर रवि बोपारा र क्यानडाका तीव्र गतिका बलर कलीम सानालाई पनि अनुबन्ध गरिएको छ।

अघिल्ला संस्करणमा प्रभाव छाडेका केही विदेशी खेलाडी पुनः आफ्नै टोलीमा फर्किएका छन्। लगातार दुई संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले इंग्ल्यान्डका सेफ अली जैब र न्युजिल्यान्डका स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको छ।
पहिलो संस्करणमा ९ खेलमा २७५ रन र १२ विकेट लिएर प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका जैब टोलीका प्रमुख हतियार मानिएका छन्। कुगेलेइनले भने दुई संस्करणमा रोयल्सका लागि २७ विकेट लिइसकेका छन्।
पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सले अमेरिकी अलराउन्डर हरमित सिंहलाई कप्तानीको जिम्मेवारी दिएको छ भने न्युजिल्यान्डका जिम्मी निशमलाई पुनः टोलीमा फर्काएको छ।
पहिलो संस्करणमा जनकपुरलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका निशमले नौ खेलमा २४७ रन बनाउनुका साथै सात विकेट पनि लिएका थिए। निशम एनपीएलको दोस्रो सिजनमा पोखरा एभेन्जर्सबाट खेलेका थिए।
गत संस्करणको विजेता लुम्बिनी लायन्सले श्रीलंकाका निरोशन डिकवेला र नामिबियाका रुबेन ट्रम्पलमनलाई निरन्तरता दिएको छ। दोस्रो संस्करणमा बीचमै टोलीमा जोडिएका डिकवेलाले ६ खेलमा १३७ रन बनाएका थिए।
कर्णाली याक्सले स्कटल्यान्डका मार्क वाटलाई पुनः अनुबन्ध गरेको छ। गत संस्करणमा उनले ४१ बलमा शतक प्रहार गर्दै ११४ रनको कीर्तिमानी पारी खेलेका थिए।
गत संस्करणहरूमा विश्व क्रिकेटका ठूला मार्टिन गप्टिल, फाप डुप्लेसिसजस्ता ठूला नामका खेलाडीलाई भित्र्याएको विराटनगर किंग्सले श्रीलंकाका टी-२० कप्तान चरिथ असलंकालाई टोलीमा भित्र्याएको छ। फ्रेन्चाइजहरूबीच खेलाडी सार्वजनिक गर्ने क्रम चलिरहेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरन्नोति गर्दै डीआरएससम्मको परीक्षण गरेको छ। आगामी कात्तिक ९ गते सोमबारदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको पहिलो खेल दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोलयल्स भिड्नेछन्।


