नेतृत्व हस्तान्तरण गरेर वामपन्थी शक्तिको एकता गर्नुपर्छ : भीम रावल

हिमाल प्रेस ३ असोज २०८३ १९:१४ | Saturday, September 19, 2026
नेतृत्व हस्तान्तरण गरेर वामपन्थी शक्तिको एकता गर्नुपर्छ : भीम रावल

बुटवल- नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेतृत्वको पदमोह र कम्यूनिस्ट आचरण नभएकाले कम्यूनिस्टहरुमाथि घेराबन्दी गरेको बताएका छन्।

उनले गत वर्षको जेनजी आन्दोलनपछि नेपालका कम्यूनिस्ट पार्टीहरु निकै कमजोर अवस्थामा पुगेकाले अब नेतृत्वमा रहेकाहरुले ससम्मानजनक बिदाइ भएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए।

पुष्पलाल मित्रता केन्द्रको आयोजनामा शनिबार बुटवलमा गरिएको वर्तमान राजनैतिक परिस्थितिमा बामपन्थी दलहरुको भूमिका बिषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै मुलुक गम्भिर संकटमा गुज्रिएकाले अब शीर्ष भनिएका नेताहरुले आफ्नो अहमता त्यागेर नेतृत्व छाड्नुपर्ने बताए।

‘मानिस कति चोटी प्रधानमन्त्री भएपछि, कतिपटक अध्यक्ष र कति पैसा भएपछि सन्तुष्ट हुन्छ,’ उनले भने, ‘वैचारिक र संगठनात्मक रुपमा नेताहरु तपाईंहरुको योगदान, त्याग देखियो, अब स–सम्मान बिदाइ हुनुस् भनेर भन्नुपर्छ।’

उनले विगतमा बनेको नेकपा र त्यसपछि बनेको सरकारपछिको नेतृत्वले गरेको अर्कमण्यका कारण कम्यूनिस्ट पार्टीहरुप्रति जनताको समर्थन घटेको बताए।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका रावलले अहिले नेपालको राष्ट्रियता, स्वाधिनता खतरामा रहेको बताए। प्रधानमन्त्रीले सार्वभौम संसदमा उभिएर नेपालले भारतको सिमा मिचेको छ भनेर अभिव्यक्ति दिनु, मुस्ताङको युरोनियम अमेरिका र अष्ट्रेलियामा डाटा सेन्टरका स्थापनाको नाममा बुझाउने जस्ता सम्झौता हुनुले गम्भिर खतरा उत्पन्न गराएको बताए।

उनले अब वामपन्थी, देशभक्ति शक्तिहरु एकजुट हुनैपर्ने बेला आएको बताए। आत्मसमीक्षा गर्दै अब मुलुक र जनताको दीर्घकालीन हितका लागि कम्यूनिस्टहरुबीच वैचारिक एकता र सहकार्यको खाँचो रहेको बताए।

नेपाली कम्युनिस्ट पार्टीका अर्का नेता चक्रपाणी खनाल ‘बलदेव’ ले वर्तमान सरकारका विरुद्ध कम्यूनिस्ट पार्टीहरुबीच एकतासँगै संघर्षमा उत्रनुपर्ने बेला आएको बताए।

उनले मदनभण्डारी र प्रचण्ड स्कुलिङबाट आएकाहरुबीच पुनः एकता र सहकार्य गर्दै आवश्यक परे दिनभरिमा शासन उल्ट्याउने गरी आन्दोलनको तयारीमा जुट्नपर्ने हुनसक्ने बताए।

उनले प्रधानमन्त्री वालेन्द्र शाह देश जलाएर सत्तामा पुगेको बताउँदै अब कम्यूनिस्ट पार्टीहरुले आवश्यक परे बल प्रयोग गर्ने गरी एकता गर्नुपर्ने बताए।

नेता खनालले लडाइँबाटै शासन सत्ता हातमा लिने हो भने गत वर्ष भदौ २३ र २४ गते जस्तै अब बिहान सुरु भएर बेलका शासन कब्जा गर्ने आन्दोलन गर्न पनि पछि पर्न नहुने बताए।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले कम्यूनिस्ट पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण आवश्यक रहेको बताए। उनले गत वर्ष फागुनमा भएको निर्वाचनले युवा पुस्ता मात्रै नभई सिंगो समाजले विश्वास नगरेको बताउँदै अब समीक्षा गर्ने बेला आइसकेको बताए।

‘अल्गोरिदम, दाउपेच र षडयन्त्रले हारेको भनियो भने त्यो बेठीक हुन्छ,’ नेता भट्टराईले भने, ‘नेतृत्व हस्तान्तरण गरेर सहज बाटोमा जानुपर्छ।’

प्रकाशित: ३ असोज २०८३ १९:१४ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast