तस्बिर : एपी
काठमाडौँ- साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा पवित्र सहर मक्कामाथि आक्रमणको प्रयास गरेको आरोप लगाउँदै त्यसलाई ‘रेड लाइन’ अर्थात् अतिक्रमण गर्न नहुने सीमा भनेको छ।
हुथीहरूले भने मक्कातर्फ ड्रोन प्रहार गरेको आरोप अस्वीकार गरेका छन्।
साउदी नेतृत्वको सैन्य गठबन्धनका अनुसार मक्काको आकाशमा प्रवेश गर्नुअघि नै ड्रोनलाई रोकेर नष्ट गरिएको थियो। गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल–मालिकीले सन् २०१७ मा हुथीहरूले मक्कातर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि यो दोस्रो आक्रमण प्रयास भएको बताएका छन्।
घटनाको पाकिस्तान, टर्की तथा ५७ भन्दाबढी मुस्लिम राष्ट्रको प्रतिनिधित्व गर्ने इस्लामिक सहयोग संगठन (ओआईसी) ले निन्दा गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पाकिस्तान साउदी अरबसँग ‘अटल रूपमा काँधमा काँध मिलाएर,’ उभिएको बताएका छन्।
यद्यपि, हुथीहरूको बढ्दो आक्रमणको जवाफमा साउदी अरबले सैन्य सहयोग मागेको कुनै जानकारी आफूलाई प्राप्त नभएको टर्की र पाकिस्तानका अधिकारीले बताएका छन्। साउदी अरब, टर्की र पाकिस्तानबीच हालै भएको रक्षा सम्झौता पनि अझै कार्यान्वयनमा आएको छैन।
यसैबीच, अमेरिकाले द्वन्द्वमा प्रत्यक्ष संलग्न हुने इच्छा नरहेको संकेत गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरूले अमेरिकासँग लड्न नचाहेको बताएका छन्।
उपराष्ट्रपति जेडी भान्सले वासिङ्टन साउदी अरब र हुथी दुवै पक्षसँग सम्पर्कमा रहेको बताएका छन्।
हुथीहरूले मध्य यमनको मारिबमा साउदी नेतृत्वको गठबन्धनको एफ–१५ लडाकु विमान खसालेको दाबीसमेत गरेका छन्। तर, उनीहरूले प्रमाण प्रस्तुत गरेका छैनन् र एपीले उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।
यसबीच, इरानी विदेशमन्त्री अब्बास अराघची चीन भ्रमणमा छन्। चीन इरानी तेलको प्रमुख खरिदकर्ता हो। भ्रमणका क्रममा मध्यपूर्वको द्वन्द्व र होर्मुज जलसन्धिमा हुने ढुवानीबारे छलफल हुने अपेक्षा गरिएको छ।-रासस/एपी


